नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको नेपालका कार्यवाहक प्रधानमन्त्रीको भनाइ
2023-09-20 16:08:36cri
Share with:

नेपालका कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङ्गबीच रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार  शिष्टाचार भेट भएको छ। 

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको निजी सचिवालयका अनुसार सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपाल एक चीन नीतिप्रति सदैव दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। उहाँले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

उहाँले नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगको लागि आभार व्यक्त गर्नुभयो। यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुराउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। 

सो अवसरमा राजदूत छन सोङ्गले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। दुई देशबिच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिनुहुँदै चीनको लिन्ची सहरमा आगामी अक्टोबर ४ देखि ६ गतेसम्म हुने ‘द थर्ड ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल को–अपरेसन’ कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्नुभयो।

उक्त अवसरमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकृत साथै चिनियाँ राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।