बेइजिङस्थित नेपाली दूतावासद्वारा नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइयो
2023-09-21 10:16:49CRI
Share with:

 

नेपालमा जनताका लागि जनताकै प्रतिनिधिले संविधान जारी गरेको आठ वर्ष पुगेको छ। यसै संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा चीनका लागि नेपालको दूतावासले बुधबार बेइजिङमा एक कार्यक्रम तथा रात्रीभोजको आयोजना गरेको छ।

सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा चीनको परराष्ट्र मन्त्रालयको एशिया विभागका महानिर्देशक लिऊ चिनसोङलाई निमन्त्रण गरिएको थियो।

चीनको परराष्ट्र मन्त्रालयको एशिया विभागका महानिर्देशक लिऊ चिनसोङले कार्यक्रममा आफ्नो मन्तव्य पनि राख्नुभएको थियो। उहाँले सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको स्मरण गर्दै चीन नेपाल सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख पुस्तामैत्री रणनीतिक सहयोगात्मक साझेदारीमा स्तरोन्नति गरिएको बताउनुभयो। हालैका वर्षहरूमा दुई देशले महामारीका कठिनाइहरू पार गरी आदानप्रदानलाई कायम राख्दै द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने, नयाँ अध्याय लेख्ने र चीन-नेपाल सम्बन्धको विकासका लागि नयाँ अवसरहरू ल्याउने कामलाई निरन्तरता दिएको बताउनुभयो।

उहाँले सन् २०२० मा चीन र नेपालका राष्ट्रप्रमुखले संयुक्त रुपमा सगरमाथाको समुद्र सतहबाटको उचाइ ८८४८.८६ मिटर भएको घोषणा गरेको पनि स्मरण गर्नुभएको थियो। उहाँले भन्नुभयो, यो विश्वको सबैभन्दा अग्लो शिखरको उचाइ र चीन नेपाल मित्रताको उचाइ हो।

लिऊले चीन र नेपाल पारस्परिक सम्मान र विश्वासका असल छिमेकी, पारस्परिक हितका लागि असल साझेदार र एकअर्कालाई सहयोग गर्ने असल मित्र भएको बताउनुभयो। नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्गमा अघि बढ्न र नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि गरिने प्रयासमा चीनले दृढतापूर्वक साथ दिने औँल्याउनुभयो।

गत वर्ष नेपाल र चीनबीचको द्विपक्षीय व्यापार १ अर्ब ६८ करोड अमेरिकी डलर पुगेको तथा संयुक्त रूपमा 'बेल्ट एण्ड रोड' निर्माणको ढाँचाअन्तर्गत दुवै पक्षले चीन नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई ठोस रूपमा अगाडि बढाएको र हिमालय आरपार त्रिआयामिक अन्तरसम्बन्धित यातायात सञ्जालले प्रारम्भिक आकार लिएको बताउनुभयो। लिऊले चीन-नेपाल मित्रताको बारेमा धेरै राम्रा कथाहरू रहेका र यसले नेपाली उखान "नङ र औँलाहरू जस्तै घनिष्ठ" भन्जस्तै स्पष्ट रूपमा व्याख्या गरेको पनि बताउनुभयो।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपाल र चीन हिमाल र नदीले जोडिएको र पुस्तौँदेखि मैत्रीपूर्ण रहेको बताउँदै सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ र प्रगाढ हुँदै आएको औँल्याउनुभयो। चीन नेपालको भरपर्दो मित्र र भरपर्दो विकास साझेदार रहँदै आएको भन्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले गरेको सहयोगका लागि नेपालले धन्यवाद ज्ञापन गर्नुभयो।

नेपालले जहिले पनि एक चीन नीति अवलम्बन गर्दै आएको र कुनै पनि शक्तिलाई चीनको हितमा आँच पुर्याउन नेपालको भूमि प्रयोग गर्न नदिने कुरामा जोड दिनुभयो।नेपाल र चीनका जनताबीचको सम्बन्ध प्रगाढ बन्दै गएको र धेरैभन्दा धेरै चिनियाँ पर्यटकले नेपाललाई आफ्नो मनपर्ने पर्यटकीय गन्तव्यका रूपमा लिने गरेको पनि औँल्याउनुभयो। चिनियाँ शैलीको आधुनिकीकरणको उच्च प्रशंसा गर्दै विश्व शान्ति र विकास तथा मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माणमा चीनको सकारात्मक भूमिकाको सराहना गर्नुभयो।

कार्यक्रमको शुभारम्भ राजदूत श्रेष्ठ तथा प्रमुख अतिथि लिऊ चिनसोङले पानसमा बत्ती बालेर गर्नुभएको थियो। साथै कार्यक्रममा पलिस्था शाक्य, आभा श्रेष्ठ तथा स्मृति र समूहले नेपाली गीत सङ्गीत प्रस्तुत गरेर वातावरण रङ्गीन बनाएका थिए। सो कार्यक्रममा चिनियाँ पदाधिकारी, विभिन्न देशका राजदूत तथा विदेशी कुटनीतिक आयोगका पदाधिकारी र चीनमा अध्ययन तथा बसोबास गर्दै आएका नेपालीको उपस्थिती थियो।