मनास्लु चढ्न ३०१ जनालाई अनुमति
2023-09-22 15:40:25cri
Share with:

मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन् । २६ समूहका २ सय ३६ पुरुष र ६५ महिलाले मनास्लु आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति जारी भएका १० हिमालमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति लिने रहेको कान्तिपुर अनलाइनले लेखेको छ। 

गत शुक्रबारसम्म मनास्लुसहित देशभरका १० हिमाल आरोहणका लागि ३ सय ३९ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांक छ । १० हिमाल आरोहणबाट ३ करोड ६४ लाख ९९ हजार राजस्व संकलन भएको छ । मनास्लुबाट मात्र ३ करोड ४० लाख राजस्व उठेको विभागको तथ्यांक छ । चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणका लागि शरद ऋतु उपयुक्त समय मानिन्छ । आरोहण अनुमति जारी भएसँगै मनास्लु आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।

मनास्लु हिमालमा डोरी टाँग्ने काम पनि सुरु भइसकेको छ । किलर माउन्टेनका रूपमा परिचित ८ हजार १६३ मिटर उचाइको मनास्लु पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ । हिमाल आरोहणसँगै पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन् । साउन र भदौमा मात्र ६२७ जना विदेशी मनास्लु क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । कोरोना महामारीपछि मनास्लु क्षेत्र घुम्न आउनेको संख्या बढेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदल मार्गमा चहलपहल बढेको छ ।