तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि
2023-09-24 15:45:15cri
Share with:

नेपालको उत्तरी छिमेकी चीनको स्वायत्त प्रदेश तिब्बतको खासा भएर तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि भएको छ। भदौ १५ गतेदेखि मानव आवतजावत खुला भएपछि आयातमा वृद्धि भएको गोरखापत्र अनलाइनले लेखेको छ।  

साउनसम्म दैनिक तीनदेखि पाँच कन्टेनर सामान आयात हुन्थ्यो तर भदौ १५ गतेयता दैनिक २० गाडी सामान आयात भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो। दसैँ नजिकिँदै गर्दा नाकामा चहलपहल बढेको छ।

दसैँलगायत चाडपर्वलाई लक्षित गरेर नेपाली व्यापारीले ल्याएको सामान धमाधम तातोपानी नाकाबाट आइरहेको छ। चीनको ग्वान्झाओ, इयु, छेन्दुलगायत सहरबाट सामान क्यारिङ गरेर तातोपानी भन्सारसम्म ल्याउने प्रबन्ध गरेको तिब्बत क्षेत्रमा क्रियाशील आडो ट्रान्सपोर्टले सहुलियत दरमा सामान ढुवानी गर्न थालेपछि नेपाली व्यापारी खुसी भएका छन्।  

खासा–काठमाडौँ सबैभन्दा कम दुरीको नाका हो। चिनियाँ सहरबाट १०–१२ दिनमा सामान तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइपुग्ने भएकाले व्यापारीलाई धेरै फाइदा हुने बताइन्छ। तातोपानी नाका पूर्ण रूपमा खुलेसँगै त्यस क्षेत्रमा काम गर्दै आएका ट्रान्सपोर्ट कम्पनीहरू सक्रिय हुन थालेका छन्। भूकम्पले विस्थापित खासाली घर नफर्किएकाले निर्यात भने लगभग शून्य नै छ। नेपालबाट निर्यात हुने सामान खासापट्टि बुझ्ने मानिस नभएकाले नेपाली व्यापारीले हस्तकला, खाद्यान्न र जडीबुटीजन्य सामान तातोपानीबाट चीनतर्फ निर्यात गर्न पाएका छैनन्। 

मानिस आवतजावत सुरु भएसँगै चिनियाँ क्षेत्रमा गएर सीमावासीले सामान ल्याउन पाएका छन्। नाकामा होटल, रेस्टुरेन्ट र पसल खुल्न थालेका छन्। दैनिक ५० जना चिनियाँ नेपाल आउन थालेका छन् भने करिब पाँच सयको सङ्ख्यामा नेपाली पारि पुगेर सामान खरिद गरिरहेका छन्। नाका खुलेपछि सिन्धुपाल्चोकवासी खुसी भएका छन्।