नेपाली अर्थतन्त्रमा वैदेशिक लगानीमा सुधारको संकेत
2023-09-24 15:50:43cri
Share with:

अघिल्लो वर्ष नेपालको वैदेशिक लगानीको क्षेत्र निराशाजनक रहे पनि चालु आर्थिक वर्षमा भने यसमा सुधारका संकेतहरु देखिएका छन्। उद्योग विभागले स्वीकृत गरेको चालु आवको प्रथम दुई महिनाको विदेशी लगानी प्रतिवद्धता र नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस क्षेत्रमा सुधारको संकेत गरेको कारोबार अनलाइनले लेखेको छ।

विभागका अनुसार गत आवको दुई महिनाको तुलनामा चालु आवमा १६६.०७ प्रतिशतले लगानी प्रतिवद्धता बढेको छ भने साउनमा भित्रिएको वैदेशिक लगानी झनै उत्साहजनक छ। राष्ट्र बैंकका अनुसार साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले बढी छ। जबकि अघिल्लो आवमा भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड ऋणात्मक रहेको तथ्यांक छ।

उद्योग विभागको तथ्यांकमा अघिल्लो वर्षको दुई महिनामा ६ अर्ब ९ करोडमात्र लगानी प्रतिवद्धता रहेकोमा चालु आवको सोही अवधिमा १६ अर्ब २१ करोड पुगेको छ। लगानी प्रतिवद्धता र पहिलो महिना खुद प्रत्यक्ष वैदेशिक लगानी शीर्षकमा भित्रिएको लगानीका आधारमा चालु आवमा सुधारको संकेत देखिएको सरोकारवालाहरु बताउँछन्। ‘अघिल्लो वर्ष आन्तरिक र बाह्य दुवै क्षेत्रको लगानी खुम्चिएको अवस्था रहे पनि चालु आवमा भने त्यसमा धेरै सुधारको आवश्यकता छ। त्यसअनुसार संकेतहरु पनि देखिएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्नुहुन्छ, ‘आन्तरिक लगानीको अवस्था सुदृढ भएमात्रै विदेशी लगानी पनि उत्साहित हुने भएकाले सरकारले नीतिगत सुधारसहित विश्वासिलो वातावण बनाउनु जरुरी छ।’ उहाँका अनुसार सरकारले चालु वर्षको बजेटमा लगानी सम्मेलन आयोजना गर्ने प्रतिवद्धता जनाएका कारण आउँदा दिनमा लगानी अझै बढ्ने देखिन्छ।

सरकारले पनि लगानी सम्मेलनको प्रक्रिया अघि बढाइसकेका कारण निजी क्षेत्र उत्साहित छ। यसअघिका दुई लगानी सम्मेलन प्रचारमुखी भए पनि त्यसको परिणाम अपेक्षित हुन नसकेको बुझाइमा रहेको निजी क्षेत्र यो वर्षको सम्मेलनलाई भने अर्थपूर्ण रुपमा अघि बढाउनुपर्ने पक्षमा छ। अर्थमन्त्री प्रकाशशरण महतले पनि छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरिसक्नु भएको छ। अघिल्लो साता लगानी बोर्डको १२ औं वार्षिकोत्सवमा उहाँले लगानी सम्मेलनको मिति चाँडै तोकिने बताउनु भएको थियो। अर्थमन्त्री महतका अनुसार विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी सम्मेलन आयोजना गर्न लागिएको छ।

नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको दाबी गर्दै उहाँले यसबाट आर्थिक गतिविधिले बढावा पाउने बताउनुभयो। पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो सम्भावना भएकाले सम्मेलनबाट लगानी भित्रिने अर्थमन्त्रीको अपेक्षा छ।

सरकारले बजेटमार्फत लगानीको खस्कँदो वातावरण सुधार गर्न मुलुकको ‘कन्ट्री क्रेडिट रेटिङ’ प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता जनाएको छ भने विदेशी लगानीकर्ताहरूका लागि विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराइने उल्लेख गरेको छ। चालु आवको बजेटमा विदेशी लगानीको सुरक्षाको प्रत्याभूति दिइने तथा विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरलीकृत गरिने उल्लेख छ। वैदेशिक लगानी आप्रवाह हुन सक्ने मुलुक पहिचान गरी द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता र दोहोरो कर मुक्ति सम्झौता गर्ने प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ।

नीतिगत सुधारसँगै कार्यान्वयन पक्षलाई पनि बलियो बनाउनुपर्ने निजी क्षेत्रको जोड छ। सरकारी अधिकारीको तजबिजी अधिकारका भरमा नीतिलाई छाडिँदा लगानीको वातावरण नै बिथोलिने गरेको तितो अनुभव रहेको निजी क्षेत्रका प्रतिनिधिहरु सुनाउँछन्। विदेशी लगानीमा भन्दा आन्तरिक लगानीको वातावरण पहिले बनाउनुपर्नेमा निजी क्षेत्रको जोड छ।