५ अर्ब ३६ करोडको तरकारी आयात हुँदा २७ करोडको मात्रै निर्यात
2023-09-25 17:36:19cri
Share with:

चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको तरकारी, जरा र गानाहरु आयात भएको छ। सोही अवधिमा २७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको भन्सार विभागले जनाएको छ। तरकारी आयातबाट ९३ करोड २८ लाख २६ हजार रुपैयाँ राजस्व उठेको छ।

 

तरकारीमध्ये सबैभन्दा बढी आलु आयात भएको विभागको तथ्यांकले देखाउँछ। दुई महिनामा १ अर्ब ३३ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको ५ करोड ३१ लाख ४ हजार ९४ किलो आलु आयात भएको छ । त्यसपछि ९५ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । धेरै आयात हुनेमा सुकेको सिमी तथा बोडी पनि पर्छ । दुई महिनामा ६७ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको ६१ लाख ३२ हजार २३६ किलो सुकेको सिमी तथा बोडी आयात भएको हो।

 

नेपालबाट भने साउन र भदौमा सबैभन्दा बढी ११ करोड ६३ हजार रुपैयाँ बराबरको ७१ लाख १ हजार ९१५ किलो सेतो र रातो बन्दा निर्यात भएको छ। त्यसपछि १० करोड ७ लाख २६ हजार रुपैयाँ बराबरको रातो दाल निर्यात भएको छ। कान्तिपुर अनलाइनका अनुसार दुई महिनामा ९३ लाख ६६ हजार रुपैयाँ बराबरको ६ लाख ७५ हजार ९२० किलो गोलभेडा निर्यात भएको विभागले जनाएको छ।