तातोपानी भएर नेपाल यात्रा, नाका खुलेको ३ सातामै ८२० चिनियाँ पर्यटक नेपालमा
2023-09-26 17:25:50cri
Share with:

सर्वसाधारणका लागि गत भदौ १५ मा तातोपानी नाका खुलेपछि चीनको स्वशासित क्षेत्र तिब्बत जाङ्मु पोर्टको खासा बजार भएर नेपाल आउने चिनियाँ पर्यटक बढ्न थालेका छन् । जसले गर्दा साढे ८ वर्षपछि यस क्षेत्रमा फेरि चहलपहल बढेको त छ नै, यसले गर्दा होटल, पसलसहित अन्य व्यवसाय धमाधम खुल्न थालेका छन् ।

 

नाका खुलेको पहिलो दिनमै तिब्बती वेशभूषामा सजिएका खासाका १ सय २० स्थानीय सीमा क्षेत्र घुम्न आएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । ‘नेपाली सामान किन्न चिनियाँ पुलवारि आइरहेका छन् । घुम्न आउनेहरू पनि उत्तिकै छन् । पहिलेकै अवस्थामा नाकामा चहलपहल फर्किने आसले स्थानीय, व्यवसायी उत्साहित छन्,’ श्रेष्ठले भन्नुभयो।

 

कान्तिपुर अनलाइनका अनुसार २०७२ को भूकम्पपछि बन्द भएको यो नाका भोटेकोशीको बाढी, कोरोनाकालमा बेलाबेला खुल्ने, बन्द हुने भइरह्यो । उक्त अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो । तीन साताअघि औपचारिक रूपमा नाका खुलेयता सोमबारसम्म चीनबाट ८ सय २० पर्यटक नेपाल घुम्न आएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताउनुभयो। विशेषगरी तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउनेको संख्या अधिक रहेको अध्यागमन कार्यालयले बताएको छ।

 

नाका खुलेको एक सातासम्म भिसा लगाएर नेपाल प्रवेश गर्ने चिनियाँ न्यून थिए । केही दिनयता भने दिनकै ४० देखि ५० चिनियाँहरू तातोपानी नाका भएर नेपाल घुम्न आउन थालेका हुन् । राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी १ सय ६४ किलोमिटर दूरीमा पर्छ । केरुङबाट भन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि नजिक छ । त्यसैले चिनियाँ पर्यटक तातोपानीबाट आउजाउ गरिरहेको पोखरेलको भनाइ छ।

‘आठ वर्षमा तातोपानी हुँदै ८ जना नेपाली स्वदेश फर्किर्एका छन् भने २ सय ४ चिनियाँ नेपालबाट फिरेका छन्,’ उहाँले भन्नुभयो।

५ हजार ९ सय १८ जना पास बनाएर चीनमा व्यापारिक किनमेलका लागि पुगेकामा पुराना ५ सय जनाले नवीकरण गराएका छन् । यहाँबाट १२ जना नेपाली ल्हासा गएको पोखरेलको भनाइ छ । सीमा क्षेत्रका बासिन्दा भने दैनिक ३ सयभन्दा बढी मितेरी पुलपारि सामान किन्न पुग्ने गरेका छन् ।

 

सीमावासीका लागि एक वर्षको अवधि राखेर नीलो पास दिइएको छ । २०७२ को भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजार जनाभन्दा बढी आउजाउ गर्थे । यसमध्ये ४० हजारभन्दा बढी त चिनियाँ पर्यटक नै हुन्थे । तातोपानी नाका बन्द भएपछि भारतलगायत मुलुकका तीर्थयात्रीले तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका थिएनन् ।

 

भूकम्प र भोटेकोशीमा आएको बाढीका कारण घटेको तातोपानी धारामा नुहाउन आउने आन्तरिक पर्यटकको संख्या भने बढ्न सकेको छैन । चिनियाँ पर्यटक भित्रिन थालेपछि आवागमन र व्यापार सहज हुने आशाले सीमा क्षेत्रका स्थानीय र व्यवसायीमा खुसी छाएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले जनाउनुभयो।

 

अहिले सिगात्सेबाट लिपिङसम्म सामान ढुवानी गर्न ७ वटा कन्टेनर आउने गरेका छन् । नाका खोल्न अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघिदेखि चिनियाँ कम्पनीले बनाइदिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड, सुरक्षा गेट भूकम्प र भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको छ ।