बाढीले जलविद्युत् आयोजनामा ८ अर्बको क्षति, पुनर्निर्माण गर्न २ वर्षसम्म लाग्ने
2023-09-26 17:26:22cri
Share with:

असार पहिलो साता पूर्वी नेपालका खोला/नदीमा आएको बाढीले पुर्‍याएका जलविद्युत् आयोजना पुनर्निर्माण गर्न २ वर्ष हाराहारी समय लाग्ने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थान (इप्पान)का अनुसार संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र निर्माण सकिएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको अनलाइनखबरले जनाएको छ।

यसमा लघु जलविद्युत् आयोजना जोडिएको छैन। त्यसमध्ये २ वटा सञ्चालनमा आएको र बाँकी जलविद्युत् आयोजना सञ्चालनमा आउन २ वर्षसम्म समय लाग्ने देखिएको इप्पानका सदस्य कुवेरमणि नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षको बाढीले झण्डै ८ अर्ब रुपैयाँ हाराहारी भौतिक क्षति गरेको अनुमान गरिएको छ ।

नेपालका अनुसार २२.१ मेगावाटको लोअर हेवा खोला र ९.९ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत् आयोजना पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ ।

असारको बाढीले ताप्लेजुङ र पाँचथरमा १० मेगावाटको इङ्गुवा खोला, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको बी–क्यासकेड, ५ मेगावाटको हेवाखोला तथा २२ मेगावाटको लोअर हेवा खोला आयोजनामा क्षति पुगेको थियो ।

संखुवासभामा ५ मेगावाटको सुपर हेवाखोला, ४ मेगावाटको अपर पिलुवाखोला, ९.९ मेगावाटको डाउन पिलुवा, ५ मेगावाट पिलुवा खोला र ४ मेगावाटको सवा खोला आयोजनामा क्षति पुगेको थियो ।

बाढीले ९९८ किलोवाटको फेमे खोला साना जलविद्युत् आयोजना, विके हाइड्रोका १५० र २४० किलोवाटको दुई वटा आयोजनामा समेत क्षति गरेको थियो ।

बाढीले ताप्लेजुङमा १८ किलोवाटको लोदम्बा हाइड्रो, १५ किलोवाटको ठाडेखोला लघुविद्युत्, ३६ किलोवाटको याम्फेवा हाइड्रो, ३२ किलोवाटको माङमाया–१ र ६४ किलोवाटको माङमाया २ आयोजनामा समेत क्षति भएको थियो।