केरामा ‘पानामा’ रोग फेला परेपछि केरा आयातमा कडाइ
2023-09-26 17:26:54cri
Share with:

केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन थालेको छ। भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

 

कैलालीको टीकापुरमा ‘टिआर–४ पानामा’ फेला परेपछि देशैभर सतर्कता अपनाउन कृषि मन्त्रालयले सर्कुलर जारी गरेको छ । भारतबाट हुने केरासँगै रोग भित्रिन नदिन अहिले नेपालभरिका नाकामा रहेका ‘प्लान्ट क्वारेन्टाइन’ ले उच्च सतर्कता अपनाएको मन्त्रालयले जनाएको छ ।

 

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै टायर सफा गर्ने र उताबाट आएको माटो कतै टाँसिएर रहेको नरहेको सुनिश्चित भएपछि मात्र नाकाबाट गाडी पठाउने गरेको छ। गोरखापत्र अनलाइनका अनुसार यो सबै काम प्लान्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ।

करिब १४ वर्षअघि नेपालमा पानामा रोगको ‘रेस–१’ भारतबाट भित्रिएको अनुमान गरिएको छ, फेरि त्यसरी रोग नभित्रियोस् भनेर नाकाहरूमा सतर्कता अपनाइएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो ।

 

नयाँ प्रजाति ‘पानामा (टिआर–४)’ ले सबै जातका केरामा लाग्न सक्ने भएकाले देशैभरि उच्च सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ । पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने गरेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलिने गर्छ र त्यसले रोग लाग्ने गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।