परम्परागत इन्द्रजात्रा पर्व अवलोकन गर्न चिनियाँ टोली काठमाडौंमा
2023-09-27 16:55:47cri
Share with:

काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो। टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक, सचिवालयका उपप्रमुख लगायत काठमाडौं आएको अनलाइनखबरले लेखेको छ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गर्नुभयो।

चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरु नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ। उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि चीनसँगै अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो। ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार असोज ९ गते (बुधबार) बिहान १० बजेर ३७ मिनेट जाँदा इन्द्रध्वजसहितको लिङ्गो बसन्तपुरस्थित हनुमानढोका अगाडि ठड्याइएको छ । असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराइने छ। त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ। इन्द्रजात्राको मुख्यदिन असोज ११ गते काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ। जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ। इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ।