विदेश जाने ३५ प्रतिशत अदक्ष कामदार
2023-09-27 16:57:50cri
Share with:

सरकारले वैदेशिक रोजगारीका लागि अनिवार्य गरेको सीप विकास तालिम कार्यविधि कार्यान्वयन नगर्दा ठूलो संख्यामा कामदार सीपबिनै विदेशिने गरेका छन्। सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेको पाँच वर्ष बितिसकेको छ । यो कार्यविधिअनुसार काम नगरेका कारण पछिल्लो दुई वर्षमा मात्र करिब पाँच लाख युवा कोरा श्रमिकका रुपमा विदेश जान बाध्य भएका हुन्। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ र २०७९–८० मा १४ लाख युवा वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये ४ लाख ८५ हजार अदक्ष कामदारका रुपमा गएका हुन्। वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये अदक्ष कामदारको संख्या करिब ३५ प्रतिशत छ । यसबाहेक ८ लाख दक्ष र १ लाख १४ हजार अर्धदक्षका रुपमा विदेशिएका छन्। यो तथ्यांकले अझै पनि नेपाल ‘लेबर ब्रान्डेड’ श्रमिक स्रोत मुलुकका रुपमा रहेको कारोबार अनलाइनले जनाएको छ।

 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार उच्च दक्ष कामदारका रुपमा २ सय ५७ जनामात्र विदेश गएका छन् । यस्तै, पेशागत कर्मचारीका रुपमा १ हजार १५३ र दक्ष जनशक्तिका रुपमा ५ लाख ६ हजार ५ सय ४६ जना काम गर्न विदेश पुगेका छन् । गत वर्ष ६० हजार ५ सय ५५ जना अर्धदक्षका रुपमा विदेश गएका थिए भने २ लाख २ हजार जना अदक्षका रुपमा पुगेका थिए।

विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले वैदेशिक रोजगारीमा जानेमध्ये धेरै अदक्ष रहेका कारण तालिमलाई अनिवार्य भन्दा पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै त्यसको स्थानमा दक्ष श्रमिक बढेको दाबी उहाँले गर्नुभयो। सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाएको थियो ।

नेपाली कामदार जाने गन्तव्य मुलुकहरुमा भारत, बंगलादेश, फिलिपिन्स लगायत देशका कामदार पनि जाने गरेका छन्। तर, यी मुलुकको तुलनामा नेपालबाट धेरै युवा कोरा श्रमिकको रुपमा खाडी तथा मलेसिया जाने गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्। कोरा श्रमिकका रुपमा विदेश जाने प्रवृत्तिले श्रमिकको कार्य हैसियत, सुरक्षा र आम्दानी न्यून हुने गरेको छ।

 

वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउनुपर्ने बताइँदै आएको छ । तर, अहिले वार्षिक २५ हजारभन्दा बढी युवाले सम्बन्धित कामका लागि तालिम लिएको पाइएको छैन । विगत वर्षहरुमा श्रम गन्तव्यले कोरा श्रमिकको माग गर्नुपर्दा नेपाललाई सम्झने गरेको एक मेनपावर व्यवसायीले बताए।

 

यो क्षेत्रका जानकारहरुका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये पुनः श्रमस्वीकृति लिनेको संख्या पनि धेरै छ। एक पटक विदेशमा सीप सिकेर फर्केकाहरुको यहाँ सीप परीक्षण नहुँदा उनीहरु अहिले अदक्ष श्रमिकका नाममा विदेश गइरहेका छन् । यसले पनि अदक्षको संख्या बढी देखिएको हो। विदेशबाट सीप सिकेर स्वदेश फर्केर पुनः अदक्षको हैसियतमा जान बाध्य भएका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको जानकारहरुको भनाइ छ। वैदेशिक रोजगारीमा जाने र आउने युवाका लागि सीप तथा पुनस्र्थापनामा काम गर्दै आएको वैदेशिक रोजगार बोर्डले गत वर्ष १ हजार ५ सय जनालाई तालिम दिएको थियो। बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई कामसँग सम्बन्धित तालिम दिएर मात्र पठाउने नीति लिएको बताउनुभयो।