विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीद्वारा स्वागत
2023-09-27 16:56:42cri
Share with:

विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभयो। विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो।

 

बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ। यस्तै बिहान प्रभातफेरी गरिएको छ। ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो। पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम गरिएको छ।

 

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ। ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ।