हाङ्चौ एसियाली टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
2023-09-27 16:57:14cri
Share with:

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ। चीनको हाङ्चौस्थित चच्याङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ। कीर्तिमानी स्कोर, ठूलो अन्तरको जित, स्ट्राइक रेटमा दीपेन्द्रसिंह ऐरीको कीर्तिमान, ऐरीको नाममा नयाँ रेकर्ड, कुशल मल्लको कीर्तिमानी शतक, सर्वाधिक छक्का र सर्वाधिक रन रेट गरी ७ वटा विश्वरेकर्ड बनेका हुन्।

 

नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो। यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो।

दोश्रो नेपालले सर्वाधिक रन रेटको रेकर्ड बनायो। मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो। सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो। तेश्रो सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए। चौथो मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन्।  पाँचौं  ऐरीको नाममा नयाँ रेकर्ड

 

दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाए। मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन्। यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो।

छैठौं स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान। मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो। र सातौं नेपालले मंगोलियालाई २७३ रनले हरायो। टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको अनलाइनखबरले लेखेको छ।