फर्निचरजन्य उत्पादन बढाउन नीतिगत सुधार गरिने
2023-09-28 17:40:38cri
Share with:

राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी सुरु भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधबार आयोजित कार्यक्रममा मेलाको उद्घाटन गर्दै मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आन्तरिक उत्पादन बढाउने, निर्यात प्रवर्धन र आयात कम गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री रिजालले आयात मुलुकका लागि सुखद विषय नभएकाले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी गर्ने धारणा राख्नुभयो । स्वदेशमै खेर गइरहेका काठको प्रयोग गर्नका लागि नीतिगत र कानुनी तवरबाट सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

गोरखापत्र अनलाइनका अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशमा बर्सेनि अर्बौंको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो । उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मूकदर्शक भएर नबस्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैङ्क तथा वित्तीय संस्थाले आफूखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा बताउनुभयो। फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै एकनासको व्यवहार गरी समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको उहाँको भनाइ छ ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गर्नुभयो। बैङ्कको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उहाँको भनाइ छ।

 

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष दिनेशकुमार अग्रवालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताउनुभयो । वर्षौंपहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समयसापेक्ष सुधार गर्दै उद्योग व्यवसायलाई प्रवर्धन गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ ।

एक सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्रीवितरण गर्ने छन् । प्रदर्शनी स्थलमा नै सामान खरिदबिक्री गर्नका लागि खुला बजारसमेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बिटुबी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्धनको अवसर पाउने अपेक्षा पनि आयोजकको छ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्गनिर्देशन गर्ने एसोसिएसनको विश्वास छ। प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेला पाँच दिनसम्म चल्ने छ।