बजारमा आउन थाल्यो हिमाली जिल्ला मुस्ताङको स्याउ
2023-09-29 18:00:31cri
Share with:

‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीतका शब्दमा भनिए जस्तै ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ अहिले बजारमा आएको छ। स्याउको बजारमा माग पनि निकै हुने र त्यही माग अनुसारकै स्याउ बजारमा पनि पाउँदा उपभोक्ता पनि मक्ख छन्। भदौ मसान्तसम्म टिप्नै नपाइने गरी प्रतिबन्ध नै लगाइएको स्याउमा गुलियोपन भरिँदै गएपछि बजारमा पुग्न थालेको गोरखापत्र अनलाइनमा खबर छ।

 

मुस्ताङको विभिन्न क्षेत्रमा उत्पादन भएका स्याउ अहिले नेपाली बजारमा आउन थालेको छ। रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशतभन्दा बढी गुलियोपना देखिएपछि असोज १ बाट बजार पठाउन थालिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाइ छ ।

 

बजारमा माग भयो भन्दैमा चाँडै टिपेर बजार पठाउँदा स्याउको गुणस्तरमा प्रश्न उठ्न थालेपछि मुस्ताङको स्याउ भदौसम्म टिप्न प्रतिबन्ध नै लगाइएको थियो । स्याउमा वास्तविक स्वाद आउने समय कात्तिकबाट मात्रै हो । सामान्यतः असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ । गाला, किङरोट जातका स्याउ छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) स्याउ भने भदौ अन्तिम साताबाटै बजारमा पठाइएको भए पनि अन्य स्याउ भने असोज १ गतेपछि मात्रै बजार पठाउन थालिएको हो ।

 

मुस्ताङमा अहिले फुजी, जोनाप्रिन्स, गोल्डेन डेलिसियस जातका हाइडेन्सिटी तथा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ नेपाली बजारमा पुगिरहेका छन् ।

मुस्ताङी स्याउको ब्रान्ड र मूल्य कायम राख्न असोज नलागी बजारमा नपठाउने गरी जिल्लाका पाँच वटै गाउँपालिकाका अध्यक्षले निर्णय गरेर त्यो निर्णय कार्यान्वयन गर्ने काम पनि भएको थियो । अब स्याउमा हुनुपर्ने जति गुलियोपना भएको हुनाले बेच्न थालिएको सिम्ले अचार्ड्स प्रालिका कर्म गुरुङले बताउनुभयो । मुस्ताङको निजी लगानीको ठुलो स्याउ बगान रहेका उहाँका अनुसार रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १० देखि १४ प्रतिशतसम्म गुलियोपना देखिएको छ ।

मुस्ताङ जिल्लामा एक हजार पाँच सय ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुन्छ । ३८ रोपनीमा उच्च घनत्वमा आधारित पाँच जातका स्याउको खेती भइरहेको छ । प्रतिहेक्टर १४.२ टन मुस्ताङमा स्याउ उत्पादकत्व रहेको छ ।

 

हिउँदमा पर्याप्त हिउँ नपर्दा र फुल्ने बेला असिनापानी पर्दा उच्च घनत्वबाहेकका स्याउको उत्पादनमा आधाभन्दा धेरै कमी देखिएको मार्फाका अगुवा कृषक दीपक लालचनको भनाइ छ । कृषकले व्यापारीसँग आफैँ मूल्य निर्धारण गरी बगानै ठेक्का दिने गरेकाले स्याउको थोक मूल्य भने नतोकिएको जिल्ला समन्वय समितिका उपप्रमुख आइतेलाल थकालीको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको सरकारी स्याउ बगानमा वार्षिक ३० टन स्याउ उत्पादन हुने गरेको छ । बागवानी केन्द्रले स्याउको ब्रान्डी दुई हजार लिटर, साइडर तीन सय लिटर र आरुबखडाको वाइन चार सय लिटर उत्पादन गर्छ ।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुसाङ, चैलेलगायत गाउँमा स्याउ खेती गरिन्छ । मुस्ताङको घरपझोङ र बारागुङमुक्ति क्षेत्र स्याउ पकेट क्षेत्र हुन् । थासाङको टुकुचे, कोवाङ क्षेत्रमा केही खेती हुन्छ । उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमन्थाङमा पनि स्याउ खेती विस्तार भएको छ ।

खरिदकर्ताले बगैँचा नै बढाबढ गरेर ठेक्कामा लिने भएकाले मूल्यमा एकरूपता भने छैन । बजारले मूल्य निर्धारण गर्न खुला राखिएकाले भूगोल, गुणस्तर र समय अनुसार मूल्य फरक पर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ । गुणस्तर कायम राख्न स्थानीय तह र केन्द्र मिलेर स्याउ टिप्ने न्यूनतम समय असोज तोकेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो।