‘देश विकासका लागि मुलुक आत्मनिर्भर हुनुपर्ने’
2023-09-30 16:35:06cri
Share with:

मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उनीहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीतिमा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए।

 

वक्ताहरूले मुलुकको निर्वाचन प्रणाली खर्चिलो भइदिँदा विकृति–विसंगति मौलाएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने, समग्र देश र जनताका पक्षमा राष्ट्रिय शक्तिहरूका बीच आन्तरिक एकता हुनुपर्ने, देशभित्र लगानीको वातावरण सिर्जना गरी रोजगारीको समस्या हल गर्नुपर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्ने खाँचो औँल्याएको कारोबार अनलाइनले लेखेको छ।

कार्यक्रममा राप्रपाका नेता, पूर्व अर्थ तथा विदेशमन्त्री डा प्रकाशचन्द्र लोहनीले प्राकृतिक सम्पादाले भरिपूर्ण देश नेपाल सत्ताकेन्द्रित राजनीतिका कारण पछि पर्नुपरेको धारणा व्यक्त गर्दै सबैभन्दा पहिले छिमेकी देश चीन र भारतको विश्वास जिती लगानी गर्न इच्छुक बाह्य देश तथा अन्तर्राष्ट्रिय निकायलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिनुभयत्र। संयुक्त राष्ट्रसंघका पूर्व स्थायी कूटनीतिक प्रतिनिधि प्रा डा जयराज आचार्यले शान्ति सेनाका हैसियतले नेपालले कमाएको प्रख्यातिलाई देश विकासका पक्षमा प्रयोग गर्नुपर्ने, राष्ट्रिय शान्ति स्थापना, उन्नत तथा व्यवस्थित कृषि प्रणाली र पूर्वाधार निर्माणका क्षेत्रमा समेत नेपाली सेनालाई प्राथमिकता दिनुपर्ने, सही व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिई आर्थिक कूटनीतिमा जोड दिनुपर्ने सुझाव दिनुभयो।