काठमाडौँ–रक्सौल रेलमार्ग बन्न कम्तीमा ५ वर्ष लाग्ने
2023-10-01 16:32:12cri
Share with:

राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग जोड्ने प्रस्तावित रेलमार्ग निर्माण हुन कम्तीमा पाँच वर्ष लाग्ने भएको छ। भारत सरकारको तर्फबाट कोंकरण रेलवे कर्पाेरेसनले तयार पारेको प्रतिवेदनले काठमाडौँ–रक्सौल रेलमार्ग निर्माण सम्पन्न हुन कम्तीमा पाँच वर्ष लाग्ने देखाएको हो। सो प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण (१७–२० जेठ २०८०) का क्रममा १८ जेठमा हस्तान्तरण गरेका थिए। परियोजना निर्माणको विस्तृत प्रतिवेदन (डीपीआर) सन् २०२१ मा सम्पन्न गर्ने भनिएको थियो। तर, कोभिड महामारी लगायतका कारणले प्रतिवेदन निर्माण यसै वर्ष मात्र सम्पन्न हुनसक्यो। 

नेपालखबर अनलाइनका अनुसार ‘अन्तिम प्रतिवेदन’ भनिए पनि यसले अन्तिम रुप भने पाएको छैन। नेपाली पक्षले विस्तृत रुपमा अध्ययन गरी सुझाव पेस गरेपछि मात्र यसले अन्तिम रुप पाउनेछ। प्रतिवेदनमा उल्लेख भए अनुसार यस (प्रतिवेदन) ले अन्तिम रुपमा पाउन एक वर्ष लाग्नेछ। यो वर्ष उत्तरार्धतिर पुगिसकेको छ। यस वर्षभित्रै प्रतिवेदन दुवै पक्षबाट पारित भयो र भारतीय पक्षले पनि तदारुकता देखायो भने रेलमार्ग निर्माणको काम २०२४ देखि सुरु हुनेछ।

 

जब विस्तृत प्रतिवेदन पारित भएर त्यसले अन्तिम रुप प्राप्त गर्छ, त्यसपछि रेलमार्ग निर्माणको दोस्रो चरण सुरु हुन्छ। दोस्रो चरणमा जमिन अधिग्रहणको काम हुनेछ। जमिन अधिग्रहणका लागि दुई वर्ष लाग्ने हिसाबकिताब प्रतिवेदनले निकालेको छ। यस हिसाबले जमिन अधिग्रहणको काम सकिँदा २०२४–२५ बितिसकेको हुनेछ। तर, यसको मतलब यो होइन कि, जमिन अधिग्रहणको दुई वर्षे चरणमा रेलमार्ग निर्माणका अन्य काम हुने छैनन्। बरु जमिन अधिग्रहण कार्यसँगै तेस्रो चरणका अन्य काम सुरु भइसकेका हुनेछन्। त्यस अन्तर्गत रेलमार्ग, आवश्यक स्थानमा सुरुङ र पुलहरु निर्माण हुनेछन्। यी कामका लागि चार वर्ष लाग्ने प्रक्षेपण प्रतिवेदनले गरेको छ। अर्थात् सन् २०२४ देखि रेलमार्ग निर्माणको काम सुरु हुन सक्यो भने सन् २०२७ सम्ममा यी महत्वपूर्ण कामहरु सम्पन्न हुनेछन्।

यसै अवधिमा (सन् २०२४, २०२५, २०२६) चौथो चरणका रुपमा रेलमार्गमा लिक राख्ने लगायत ‘ट्र्याक बेड’ निर्माणको काम हुनेछ। चौथो चरणजस्तै पाचौँ, छैटौँ र सातौँ चरणको अवधि पनि तीन वर्षको हुनेछ। पाँचौँ चरणमा रेलमार्गलाई आवश्यक पर्ने भवन लगायत संरचना निर्माण हुनेछन्। छैटौँ चरणमा सुरुङ र सातौँ चरणमा विद्युतीकरण र पावर सप्लाईका काम हुनेछन्। आठौँ चरणको काम पनि यही अवधिमा हुनेछ। आठौँ चरण अन्तर्गत सिग्नलिङ र टेलिकम्युनिकेसन सम्बन्धी कामलाई राखिएको छ।

 

नवौँ चरण (सन् २०२७) को रुपमा ‘अन्तिम परीक्षण र सञ्चार’ लाई राखिएको छ। नेपाली पक्षको सुझावपछि छिट्टै डीपीआरलाई अन्तिम रुप दिएर काम सुरु भयो र निर्धारित समयमै सम्पूर्ण काम सम्पन्न हुँदै गए भने रक्सौल–काठमाडौँ रेलमार्ग सन् २०२७ को अन्त्यसम्ममा निर्माण सम्पन्न हुनेछ। 

 

यसैबीच रक्सौल–काठमाडौँ रेलमार्गका लागि चार वटा काल्पनिक रुटको खाका कोरेर सम्भाव्यता अध्ययन थालिएको थियो। त्यसमध्ये सबैभन्दा छोटो र सस्तो मार्गलाई उचित ठहर्याएर विस्तृत सम्भावना अध्ययन गरी भारतीय पक्षले नेपाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

मान्यता पाएको यो रुट रक्सौल–वीरगञ्ज–बेल्हवा–मनहर्वा–सपही बजार–निजगढ–मकवानपुर–दियाल–शिखरपुर–सिस्नेरी–सतिखेल हुँदै काठमाडौँको चोभारसम्म आइपुग्छ। 

 

सम्भाव्यता अध्ययनको थालनी हुँदा मकवानपुरको मन्थली हुँदै आउने थप दुई वटा रुटको बारेमा पनि छलफल भएको थियो। यसमध्ये पहिलो विकल्पका रुपमा रहेको रुट वीरगञ्ज–जीतपुर–पिपर्वा–रतनपुर–हटिया–हेटौँडा–आमभञ्ज्याङ–मकवानपुरगढी–शिखरपुर–मन्थली–पञ्चकन्या–दक्षिणकाली हुँदै काठमाडौँ आइपुग्थ्यो। डीपीआरमा उल्लेख भए अनुसार रक्सौल–वीरगन्जबाट मन्थली हुँदै काठमाडौँ आइपुग्ने यो रुटको दुरी १७०.९६ किमि हुने थियो।