विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा
2023-10-01 16:34:09cri
Share with:

नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालका अधिकांश उद्योगधन्दामा दक्ष जनशक्ति विदेशी मुलुकबाट ल्याएर काम हुँदै आइरहेको बताउनुभयो।

 

‘काठमाडौं उपत्यकामा मात्रै भारतको उडिसा प्रदेशका साढे सात हजारभन्दा धेरै दक्ष प्लम्बर आएर काम गर्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘सुनचाँदी क्षेत्रमा पनि भारतीय कलिगढको माग उस्तै छ। अर्कातर्फ फर्निचरजन्य काममा भने बंगलादेशी कामदारले काम गर्दै आइरहेका नागरिकन्यूज डटकमले लेखेको छ।   

भण्डारीले नेपालका युवाहरूलाई वैदेशिक रोजगारीको अभाव सधैंजसो हुँदै आइरहेको छ तर नेपालमा रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिमको अभावका कारणले गर्दा विदेशी जनशक्ति ल्याएर काम गर्नुपर्ने बाध्यता कायमै भएको बताउनुभयो।

 

राष्ट्रिय योजना आयोगका सचिव डा. तोया ज्ञवालीले व्यावसायिक शिक्षा र उद्योग क्षेत्रमा आवश्यक पर्ने कामदारबीच आपसी समझदारी नहुँदा पनि समस्या भएको बताउनुभयो।

‘हाम्रो भोकेसनल शिक्षा दिने निकाय र उद्योगबीचको तारतम्य मिलेको देखिन्न,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा पनि दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।’

 

नेपाली कामदारलाई सीप सिकाएर दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउन सक्ने हो भने दोब्बरभन्दा धेरै रेमिट्यान्स भित्र्याउन सक्ने उनले बताए। नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालले सीपमूलक क्षमताकै अभावको कारणले नेपाली जनशक्तिको उत्पादन क्षमता पनि कमजोर हुँदै आएको बताउनुभयो।