दसैँमा काठमाडौँलाई १ अर्ब ६० करोडका खसीबोका
2023-10-02 16:46:07cri
Share with:

दसैँ नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ ।

निजी व्यवसायीले भने ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन् । एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काको भनाइ छ । तिनको औसत मूल्य २० देखि २२ हजार पर्छ । ‘२० हजारका दरले ५० हजार खसीबोकाको मूल्य १ अर्ब रुपैयाँ हुन्छ । गत वर्षझैं यस वर्ष करिब १० देखि १५ हजार च्यांग्रा ल्याउँछौं,’ उहाँले भन्नुभयो, ‘एउटा च्यांग्राको मूल्य ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्छ । औसत मूल्य ३५ हजारका दरले ५२ करोड ५० लाख रुपैयाँ पर्छ ।’

खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जनाउनुभयो। सोहीअनुसार गाउँगाउँमा खसीबोका खरिद प्रक्रिया सुरु गरिने उहाँको भनाइ छ । ‘सरकारी खसीबोका यही असोज २१ बाट बिक्री थाल्छौं । प्रतिकिलोमा १० रुपैयाँ छुट दिन्छौं,’ उहाँले भन्नुभयो ।

यसपालि स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उहाँको भनाइ छ । बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो । वार्षिक उत्पादन २० प्रतिशतले बढ्छ । अर्थात् साढे ७ लाख उत्पादन हुन्छ । नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको जनाइएको छ ।

‘मागभन्दा उत्पादन बढी नै रहेकाले विदेशी आयात गर्नुपर्ने बाध्यता छैन,’ उहाँले भन्नुभयो, ‘स्वदेशी खरिद हुँदा किसानलाई पनि राम्रो हुन्छ ।’ गत वर्षको दसैँमा व्यवसायीले जिल्लाबाट ४० हजार खसीबोका ल्याएर बिक्री गरेको मन्त्रालयको तथ्यांक छ । यसपालि ५० हजार ल्याउने ठाकुरले जनाए । निजी क्षेत्रको तुलनामा सरकारी खसीबोका र च्यांग्राको संख्या भने धेरै कम छ । यता, सरकारी अधिकारी भने मुख्य उद्देश्य मूल्य हस्तक्षेप रहेको दाबी गर्छन् ।

खाद्य व्यवस्था व्यापार कम्पनीले यसपालि लक्ष्य थोरै बढाएको छ । खसीबोका खरिद बजेट पनि ६ करोड ४३ लाखबाट बढाएर ८ करोड ३३ लाख ४० हजार पुर्‍याएको छ । गत वर्ष खाद्यले २३ सय खसीबोका/च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो । यसपालि ३ हजार लक्ष्य राखेको थापाको भनाइ छ ।

‘संख्याका हिसाबले थोरै भए पनि हाम्रो मुख्य उद्देश्य बजार मूल्य हस्तक्षेप नै हो,’ थापाले भन्नुभयो, ‘सरकारले बेच्न थाल्दा मनोमानी मूल्य हट्छ ।’ विगतमा जसरी यसपालि पनि हेटौंडा, दाङ, धादिङ, मकवानपुरलगायत जिल्लाबाट खसीबोका किन्ने योजना रहेको खाद्यले जनाएको छ । खसीबोका किन्न खाद्यको जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ । प्रशासनिक र ढुवानी खर्च जोडेर खाद्यले मूल्य निर्धारण गर्ने गरेको उहाँको दाबी छ ।

गत वर्ष सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकेको थियो । चौपाया खरिदबिक्री सेवा संघले तराईको खसी प्रतिकिलो ७ सय १० देखि ७ सय ५० रुपैयाँ तोकेको थियो । लोकल खसी प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो ।

खाद्यले च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकेको थियो । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२ सय ५० रुपैयाँमा बेचेको थियो । व्यवसायीले सुरुमा च्यांग्राको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ तोकेका थिए । खाद्यको च्यांग्रा सकिएपछि भने मूल्य बढाएका थिए ।

काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने यसपालि हिउँदे दसैँ भएकाले मूल्य खासै नबढ्ने दाबी गर्नुभयो । ‘यसपालि स्वदेशमै पर्याप्त उत्पादन छ । हिउँदे दसैँ भएका कारण ढुवानीमा समस्या हुन्न,’ उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा महँगो पर्दैन ।’ यसपालिको दसैँमा करिब ९५ प्रतिशत स्वदेशी खसीबोका बिक्री हुने उहाँको भनाइ छ ।