नेपाल र चीनबीचको तातोपानी नाकामा चहलपहल
2023-10-02 16:43:47cri
Share with:

झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ १५ सम्म आंशिक सञ्चालनमा थियो तर अहिले पूर्ण रूपमा सञ्चालनमा आएको सो नाकामा बिस्तारै चहलपहल र कारोबारको गति बढ्न थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

नजिकिएको दसैँतिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि उक्त नाकामा चहलपहल बढ्दै गएको हो। जाडोका लागि रेडिमेड कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनको विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन्। 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले चीनबाट सामान आयात हुँदै गर्दा अहिलेसम्म कुनै बाधा समस्या नआएको जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। आयात निर्यात सहज भएमा सरकारले राखेको लक्ष्य अनुरूप राजस्व सङ्कलन हुने केसीले बताउनुभयो।

तातोपानी नाका दुईतर्फी सञ्चालनमा आए पनि नेपाल भूभागतर्फ समस्यै समस्या छ। सरकारले नाकास्थित नेपाल भूमिमा सडक, भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, नाका आबद्ध सरकारी कार्यालयलगायतका पक्ष व्यवस्थित नगर्दा व्यापारमा असहजता पैदा भएको छ।

हाल सिन्धुपाल्चोकवासीलाई एकवर्षे पास दिन थालिएको छ। पास बनाउन आउनेको सङ्ख्या दिनहुँ बढेको छ। अध्यागमन कार्यालयको भवन छैन। भूकम्पले जीर्ण र खण्डहर कोठामा बसेर अध्यागमन कार्यालय चलेको छ। बिजुली सेवा भरपर्दो छैन। विद्युत् ब्याकअप छैन। सो कारण नेपाल घुम्न आउने पर्यटकलाई भिसा प्रविष्ट गर्न घण्टौँ समय कुर्नु परेको छ। अहिले नेपालबाट तिब्बतको भूमिमा दैनिक चार सयभन्दा बढी सर्वसाधारण किनेमलका लागि जान्छन् तर विद्युत् अभावका कारण पास बनाउन नपाएर रोकिनु परेको छ। 

मितेरी पुल नजिकैको मेन गेट जीर्ण र अव्यवस्थित छ। सुरक्षा जाँचमा बस्ने सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई डरत्रास दिने प्रकारको जाँच छ। नेपालबाट कुनै पनि सामग्री चिनियाँ क्षेत्रमा लैजान दिइएको छैन। नेपालमा बनेको एक पोका चाउचाउसमेत चिनियाँ क्षेत्रमा लैजान नपाइने स्थानीय शेरबहादुर मगरले बताउनुभयो। 

आयातित वस्तु कुन गुणस्तरको हो, परीक्षण गर्ने कुनै उपकरण छैन। नाकामा क्वारेन्टाइन व्यवस्थित छैन। मितेरी पुलदेखि बाह्रबिसेको खोर्सानीबारीसम्मको २८ किलोमिटर सडक खण्डहर छन्।

मालवाहक गाडी, ठुला कन्टेनर उच्च जोखिममा उक्त सडकमा आउजाउ गर्नु परेको छ। पटक पटक सडकमा लगानी भए पनि त्यो बालुवामा पानी हाले झैँ भइरहेको छ। चीनबाट गएको वैशाखमै ल्याइएको रासायनिक मल भन्सारमा गोदाम गरी राखिएकाले अहिले व्यापारीले ल्याएको सामान व्यवस्थापनमा कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ।