गाउँमा बिमा जनचेतना अभियान
2023-10-02 16:47:14cri
Share with:

हुम्ला जिल्लामा ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ। ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडलाई बिमा प्राधिकरणले हुम्ला जिल्लामा जीवन बिमा जागरण अभियान सञ्चालन गर्ने जिम्मा दिएको उक्त कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताउनुभयो। उहाँले प्राधिकरणले दिएको जिम्मा अनुसार कम्पनीले महिनाको कम्तीमा एक पटक गाउँ गाउँमा पुगेर ग्रामीणस्तरमा जागरण अभियान सञ्चालन कार्य सुरु गरेको बताउनुभयो। यस क्रममा उक्त कम्पनीले पहिलो पटक खार्पुनाथ गाउँपालिकामा यो अभियान सञ्चालन गरेको हो। 

जागरण अभियानका क्रममा प्रबन्धक माझीले बिमाको परिचय, आवश्यकता, महत्व र फाइदाका बारेमा जानकारी गराउनुभएको थियो। त्यसै गरी जागरण अभियानका क्रममा बिमा गर्दा यसले सेवाग्राहीको सुरक्षा र बचतको सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो। छलफलमा बिरामी हुँदा ३५ प्रकारका रोगको उपचार निःशुल्क गर्नेबारेमा जानकारी दिइएको छ। हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ४५३ रहेकामा त्यसको २० प्रतिशत नागरिकले मात्र जीवन बिमा गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो। 

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले ग्रामीणस्तरमा बिमाको पहुँच वृद्धि गर्नु आवश्यक रहेको बताउँदै स्थानीयवासीलाई जीवन बिमा गरेर आफ्नो सुरक्षाका साथै बचतको ग्यारेन्टी गर्न सुझाव दिनुभयो। उहाँले बुझेका स्थानमा पशुबस्तु, घर, खेतीपाती, सवारीसाधन प्रत्येकको बिमा गर्ने कार्य भइरहेको अवस्थामा जिल्लामा अब जीवन बिमा गर्नु आवश्यक रहेको बताउनुभयो। 

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, किसानलगायतको उपस्थिति रहेको थियो। यसैबिच कम्पनीले अघिल्लो आर्थिक वर्षमा सफल व्यवसाय गर्ने अभिकर्तालाई सम्मानसमेत गरेको छ।