चिनियाँ तथा भारतीय लगानी भित्र्याउनका लागि नेपालका सातै प्रदेशमा लगानी सम्मेलन हुने
2023-10-03 16:01:01cri
Share with:

नेपाल उद्योग वाणिज्य महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ। भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने महासङ्घले निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ।  

बागलुङको ढोरपाटनमा सम्पन्न महासङ्घको कार्यकारिणी समितिको तेस्रो बैठकले वर्तमान आर्थिक सङ्कट समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा बहृत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कटमोचनको रोडम्याप बनाउने निर्णय पनि गरेको छ। सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको सङ्कटको निकास निकाल्ने गरी यही असोज महिनाको अन्तिम साता बृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने बैठकले निर्णय गरेको हो। 

सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषयहरू गम्भीरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या हुन् भन्ने धारणाप्रति महासङ्घले आफ्नो गुनासो पनि व्यक्त गरेको छ। 

कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउने निर्णय पनि गरेको जानकारी दिनुभयो। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउने गरी निजी क्षेत्रले भ्रमण वर्षभरी महासङ्घको केन्द्र, प्रदेश र जिल्ला र नगरमा पर्यटन प्रवर्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। महासङ्घ तथा यसका सदस्य सङ्घ र संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राखिने पनि बताउनुभयो।

बैठकले ७७ वटै जिल्लाका व्यवसायीको सहभागितामा बृहत् लगानी कम्पनी स्थापना गरी ठुला तथा बहुआयामिक आयोजनामा लगानी गर्ने निर्णय गरेको ढकालले बताउनुभयो।