बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
2023-10-04 16:21:08cri
Share with:

नेपालको सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ बजेर ६ मिनेट जाँदा बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ बजेर १३ मिनेट जाँदा चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ बजेर ४५ मिनेट जाँदा सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४ बजेर २८ मिनेट जाँदा तालकोट केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४ बजेर ३१ मिनेट जाँदा सुवेडा केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केल, ५ बजेर १९ मिनेट जाँदा सेली केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

यसैगरी गएराति १२ बजेर १६ मिनेट जाँदा दामेना केन्द्रबिन्दु भएर चार दशमलव एक, १२ बजेर ५० मिनेट जाँदा तालकोट केन्द्रबिन्दु भएर चार दशमलव तीन र आज बिहान ५ बजेर ४३ मिनेट जाँदा चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउनुहुन्छ। “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो।

यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो। उहाँले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताउनुभयो।