केरुङ्ग-काठमण्डौ रेलमार्गको निम्ति ड्रोन उडाइँदै
2023-10-05 16:04:23cri
Share with:

जिल्ला प्रहरी परिसर,काठमाडौंले केरुङ–काठमाडौं रेलमार्ग सर्भेका लागि ड्रोन प्रयोगमा सहजीकरण गरिदिन आफू मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। परिसरले प्रहरी वृत्त महाराजगञ्ज, बौध्द,नयाँ बानेश्वर, कालीमाटी, बालाजु, गौशाला, कीर्तिपुर, थानकोट, स्वयम्भू, जनसेवा, दरबारमार्ग, मालीगाउँ, लैनचौर, सिंहदरबार, प्रहरी प्रभाग बूढानिलकण्ठ, कोटेश्वर, साँखु, बलम्बु, काँडाघारी, कपन, नयाँ बसपार्क, नागढुङ्गा र ईलाका प्रहरी कार्यालय, फर्पिङलाई असोज १५ गते सोमबार पत्राचार गरेर आवश्यक सहजीकरणको निर्देशन दिएको जनआस्था अनलाइनले लेखेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मानवरहित हवाई उपकरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम ड्रोन उडानका लागि स्वीकृति दिएको परिसरले जनाएको छ। ‘मानवरहित हवाई उपकरणसम्बन्धी कार्यविधि, २०७५ को अधिनमा रही ड्रोन उडान गर्न सहमति प्रदान गरिएको व्यहोरा आदेशानुसार अनुरोध भन्दै रेल विभाग, काठमाडौंलाई सम्बोधन गरी लेखिएको जिल्ला प्रशासन कार्यालय,काठमाडौंबाट च.नं. ८९८ मिति २०८०–६–१४ गतेको पत्र प्राप्त हुन आएको हुँदा उक्त कार्यमा आवश्यक सहजीकरण गर्नहुन’, पत्रमा उल्लेख छ।

चीन सरकारको सहयोगमा सञ्चालित ‘नेपाल–चीन अन्तरदेशीय (केरुङ–काठमाडौं) रेलमार्गको अध्ययन कार्यका लागि ड्रोनको प्रयोग गर्ने व्यवस्था मिलाउन भन्दै गृह मन्त्रालयले काठमाडौं प्रशासनलाई पत्र पठाएको थियो। प्रशासनले गत असोज १४ गते ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।