चिनियाँ सहयोगमा निर्माणाधिन रसुवा बन्दरगाहको काम पचास प्रतिशत सम्पन्न
2023-10-05 16:02:11cri
Share with:

 रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ। चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ। दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ। बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ। समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको निर्माणको काम ५० प्रतिशत सकिएको जानकारी दिनुभयो। रसुवामा निर्माण हुन लागेको बन्दरगाह निर्माण सम्पन्न भएपछि आयात निर्यातलाई सहज बनाउने जानकारी दिनुभयो। “नेपाल–चीनबिचको महत्त्वपूर्ण रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उहाँले भन्नुभयो। रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ। अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माण काम भइरहेको उहाँले जानकारी दिनुभयो। बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ।

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन्। बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ। त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ। समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन्।

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ। अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन्। रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ। रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ।

चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ। तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ। अहिले सबैभन्दा धेरै रसुुवा नाकाबाट सामान आउने गरेको छ। चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ। अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ। चिनियाँ पक्षले रसुवामा अनुदानमै ठुला संरचना निर्माण केन्द्रित गरेको छ। रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबीच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ।

सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ। प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ। उक्त बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन्। जाँचपास बिन्दु दुई वटा हुने छन्।

रसुवा भन्सार कार्यालयका अनुसार हाल दैनिक रसुवा नाकाबाट दैनिक २० देखि ३० कन्टेनर सामान आयात हुने गरेको छ। कार्यालयका प्रमुख रामप्रसाद पाठकले दसैँको सिजन भएकाले पनि सामान आउने क्रम बढ्दै गएको जानकारी दिनुभयो। हाल दसैँलाई लक्षित गरेर सामान आयात हुने गरेको उहाँको भनाइ छ। कार्यालयका अनुसार चालुु आर्थिक वर्षको असोज १६ सम्म १२ अर्ब २२ करोड तीन लाख रुपियाँको सामान आयात भएको छ। सामान आयातबाट चार अर्ब ३३ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। सो अवधिमा सबैभन्दा धेरै सवारीसाधन आयात भएको छ। तीन अर्ब आठ करोड २४ लाख रुपियाँ बराबरको एक हजार ८६ वटा सवारीसाधन आयात भएको कार्यालयले जनाएको छ। गाडी आयात गरेर एक अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ। चालुु आवमा ११ अर्ब ९४ करोड रुपियाँ राजस्व सङ्कलन लक्ष्य लिएकामा असोज १६ सम्म चार अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३३ अर्ब ७१ करोड रुपियाँको सामान आयात भएको थियो। सो अवधिमा सामान आयात गरेर आठ अर्ब २४ करोड रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। आयात बढ्दै गए पनि नेपालबाट सामान निर्यात भने न्यून रहेको छ।