हाङ्चौ १९औ एशियाली खेलकुद प्रतियोगिता खेलकुदमन्त्री डिगबहादुर राई लिम्बुसँग बेइजिङबाट सीएमजीका पत्रकार लक्ष्मी लम्सालको टेलिफोन संवाद#नेपालीकोआँखामाएशियालीखेलकुद
2023-10-07 17:31:07cri
Share with:

हाङ्चौ एसियाली खेलकुदमा चीनको खेल पूर्वाधार र नेपाली खेलाडीको प्रदर्शन

कल्पनाभन्दा बाहिरको लाग्यो। अत्यन्त तागत लगाएर पूर्वाधार निर्माण गरिएको रहेछ। सिंगो देश यसैमा लागेको अनुभूति मैले गरेको छु। समग्रमा यसबाट नेपालले पनि सिक्नुपर्ने देखिन्छ। यहाँको प्रविधिहरू जुन प्रयोग गरेको छ, जुन स्टाण्डर्डको स्टेडियमहरू बनाएको छ, त्यसले अत्यन्त प्रभावित बनाएको अवस्था हो। हामीले यति त गर्न सक्दैनौ तर पनि यसबाट सिकेर हाम्रो देशको अर्थतन्त्रले भ्याउने गरी, देशको माटो सुहाउने गरी यस्तो खेल पूर्वाधारहरू बनाएर खेलको विकास गर्न अत्यन्त जरूरी भएको मैले महसुस गरेको छु।

 

अर्को कुरा, नेपाली खेलाडीले आफ्नो शक्ति प्रदर्शन गरेका छन्। तर नेपालको तयारी निकै कम भएको महसुस भयो। हाम्रो खेलाडीले उच्च मनोबलका साथ खेल्नुभएको छ। हामीले साधन, श्रोत दिएर प्रशिक्षण दिने हो भने नेपाली खेलाडीले पनि उच्च मनोबलका साथ खेल्न सक्छन् भन्ने मलाई लाग्छ।

 

हाङ्चौ शहरले पारेको छाप

विकासका हिसाबले चीन धेरै अगाडि छ। यो भन्दा अगाडि बेइजिङ शाङहाई खुनमिङ लगायतको भ्रमण गरिसकेको छु। हाङ्चौको निर्माण पनि २० वर्षअघिदेखि सुरु गरेको भन्ने सुन्नमा आयो। २० वर्षमै यति ठूलो पूर्वाधार निर्माण गरेर सहर बनाउन सकिन्छ भन्ने देखियो। सबैभन्दा ठूलो कुरा आर्थिक श्रोत नै हो। पूँजी नभएका कारणले हामीले निर्माण गर्न नसकेको कुरा पनि छ। तर यो अत्यन्त व्यवस्थित ढंगले सहर बसाइएको रहेछ। २|४ ठाउँ हेरें मैले।

 

नेपालले पनि सिक्नुपर्ने कुरा छ। थोरै साधनश्रोत खर्च गरेर पनि नेपालमा बनाउन सकिन्छ। नेपाल सानो र सुन्दर छ। प्राकृतिक सौन्दर्ययुक्त भएकाले थोरै खर्चमा पनि बनाउन सकिने मलाई लागेको छ।

 

हाङ्चौ शहर एकदम व्यवस्थित रहेछ। यहाँ मात्रै एक करोड मानिसहरू बस्ने रहेछन्। यो शहरमा चीनका विभिन्न क्षेत्रबाट स्थापित हुन युवाहरू पनि आउने गरेको थाहा पाइयो। चीनको विकास हेर्दाखेरी चाहिँ यसबाट हामीले सिकेर परिवर्तनका निमित्त केही प्रयासहरू गर्नुपर्ने देखिन्छ।

 

खेलकुदले संस्कृति जोड्ने

उसो त ‘हाइ लेभल’का खेलाडीसँग हाम्रा खेलाडीले प्रतिष्पर्धा गरेर जित्नुभन्दा पनि केही सिकेर फर्किनुपर्ने देखिन्छ। देशको नाम राख्नका लागि उत्प्रेरित भएर खेल्नेछन्।त्यसैले नेपालले धेरै संख्यामा सहभागिता जनाएको हो।

 

सांस्कृतिक हिसाबमा यो हाङ्चौ खेलकुद निकै अर्थपूर्ण छ। खेलकुदलाई संगीतमा जोडेको देखियो। संस्कृतिसँग जोडेको देखियो। र हरेक क्षेत्रमा खेलको गतिविधिलाई कलात्मक र नवीन ढंगले चीनले प्रस्तुत गरेको देखियो। नाच्दाखेरि पनि खेलकुदकै ‘एक्सन’मा नाचिरहेको र त्यही खालको प्रस्तुती देख्दाखेरी गजबको अनुभूति भयो। चीनले सौहार्द्रपूर्ण ढंगबाट सम्पूर्ण शक्ति लगाएर जुन उद्घाटन समारोह गरेको छ त्यसले चाहिँ सिंगो विश्वको ध्यान केन्द्रित गरेको छ। 

 

सी चिनफिङले भनेजस्तै खेलकुदले मानवीय एकता बढाउँछ

युद्धरत देशहरूबीचमा पनि खेलकुद हुनसक्ने परम्परा छन्। उता तोप पड्काएर युद्ध गरिरहेका हुन्छन् भने यता हार्दिकतापूर्वक खेलिरहेका हुन्छन्। यो संस्कृतिको विकास हिजो पनि थियो र अहिले खेलले संसारलाई जोड्न सक्छ भन्ने सन्देश दिएको छ।

 

नारा ‘वन एसिया’ अर्थात् एउटै एसिया भन्ने छ। खेलका माध्यमबाट एसियालाई एक ढिक्का बनाउने र एक ढिक्का बनाउन सकियो भने पूरै संसारलाई खेलका माध्यमबाट एक बनाउन सकिन्छ भन्ने कुरा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन्देश दिनुभएको छ। खेलको माध्यमबाट कुनै पनि वैरभाव नराखीकन, मित्रवत् रुपमा खेल्न सकिने, मित्रवत् व्यवहार गर्न सकिने, एक देशले अर्को देशलाई पनि खेलबाट जोड्न सकिने सन्देश सीले दिनुभएको छ।

 

नेपाल- चीन खेलकुद क्षेत्रमा सहयोग

प्रधानमन्त्री प्रचण्ड सहितको टोलीले हाङ्चौ एसियाली गेममा सहभागिता जनायो। नेपालले छिमेकी मुलुकसँग असल सम्बन्ध कायम राखेर नेपालको बृहत्तर बिकासको निमित्त समन्वय गर्दै एक कदम अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। हामी सानो मुलुक र अत्यन्त नजीकको छिमेकी मुलुक भएको हिसाबले नेपालले आफ्नो कुरा स्पष्टसँग भन्न सक्नुपर्छ भन्ने मलाई लाग्छ।

 

नेपालले दलीय आधारमा होइन। सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर देशको स्वाभिमान र राष्ट्रियता बचाउँदै देशको आवश्यकता के हो भन्ने कुरा सबै दलहरूले एक ठाउँमा उभिएर बोल्न सक्नुपर्दछ। साझा धारणा र स्पष्ट दृष्टिकोण राख्न सकियो भने चीनले सहयोग गर्नसक्छ।

 

हाम्रो बीचमा नै खिचातानी भयो कसले भनेको सुन्ने त ! दुविधा हुन्छ। कूटनीतिज्ञहरूले पनि भनेकै छन्, सरकारैपिच्छे फरक फरक कुरा आएकाले काम गर्न सजिलो नभएको बताइरहेका छन्। देशको आवश्यकता पहिचान गरेर छिमेकी मुलुकहरूबाट सहयोग लिन सकिन्छ। नेपालले नै अग्रसरता लिनुपर्छ।