नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्व गभर्नर कुरोदा
2023-10-07 16:24:17cri
Share with:

जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्व गभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनु भएको छ। काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्व अध्यक्षसमेत रहनुभएका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभएको हो।

 मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ। ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ।

पूर्वगभर्नर कुरोदाले १० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै  यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु र यहाँ आर्थिक विकासको अझै प्रचुर सम्भावना छ।’’

 उहाँले नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्रमा आफूले सम्भावना देखेको चर्चा गर्दै उहाँले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको छ, यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने बताउनुभयो।

उहाँले नेपालमा अझै धेरै चुनौति रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरु, राजनीतिक नेताहरु एवम् सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको जानकारी पनि दिनुभयो। पत्रकार सम्मेलनका क्रममा उहाँले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर पनि गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

जापानमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उहाँको भनाइ छ। तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको तर्क छ।

 पूर्वगभर्नर कुरोदाले भन्नुभयो, ‘‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ । मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनु भयो ।

उहाँले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।