कोरला नाका पूर्ण रुपमा खुल्ने प्रतीक्षामा पोखराका स्थानीयवासिन्दा
2023-10-07 16:22:54cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानुअघि गण्डकी प्रदेशका उद्योगी व्यवसायीले मुस्ताङको कोरला नाका खोल्न र पोखरा विमानस्थलमा चिनियाँ सहरबाट उडान सञ्चालन गर्न पहल गर्नुपर्ने मागपत्र पोखरामै भेटेर बुझाए । दाहाल चीन भ्रमणबाट फर्किइसकेपछि उनले यी दुवै एजेन्डामा चीन सकारात्मक रहेको प्रतिक्रिया दिए पनि कहिले खुल्छ भन्ने यकिन छैन ।

दाहालको भ्रमणपछि चीनले सीमावर्ती पालिकाका स्थानीयका लागि मात्रै खुला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको अनुमतिपत्र (पास) का आधारमा तिब्बतसँग सीमा जोडिएका उपल्लो मुस्ताङका लोमन्थाङ र लो–घेकरदामोदरकुण्ड गाउँपालिकाका स्थानीयले मात्रै वारपार गर्न पाउँछन् । उक्त पासका आधारमा दुई गाउँपालिकाका स्थानीय चीनतर्फ ३० किलोमटर परसम्म जान पाउँछन् ।

 चिनियाँ पनि नेपालतर्फ ३० किमिसम्म आउन पाउँछन् । कोरला नाका पूर्ण रूपमा नखुल्दा उपल्लो मुस्ताङीले खुसी मनाउन सकेका छैनन् । यसअघि कोरला नाकामा हरेक वर्ष असार र भदौमा अन्तरदेशीय व्यापार मेला सञ्चालन हुँदै आएको थियो । दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट चीनतर्फ १० किलोमिटर क्षेत्रमा व्यापार मेला हुने गर्थ्यो । यताको स्याउ, आलु, पिठो, पस्मिना, जडीबुटी उता बिक्थ्यो । उताबाट भेडा, च्याङ्ग्रा, लत्ताकपडा यता भित्रिन्थ्यो । इलाका प्रशासन कार्यालय लोमन्थाङले स्थानीयलाई एक दिवसीय प्रवेश पास उपलब्ध गराउँथ्यो । कोभिड महामारीपछि यो नाका चिनियाँ पक्षले बन्द गर्‍यो ।

 लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार अब उक्त मेला नहुने चिनियाँ पक्षले बताएको छ । वर्षभरि नै गृह मन्त्रालयको पासका आधारमा उपल्लो मुस्ताङी वारपार गर्न पाउँछन् । ‘कोरोना अगाडिसम्म आफ्नो परिचयपत्र देखाएरै ३० किलोमिटर परसम्म जान पाइन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले नाका खुल्यो भने मात्रै गृह मन्त्रालयको पासको अर्थ छ, नत्र कुनै फाइदा छैन ।’ नाका खुल्दा उपल्लो मुस्ताङीलाई राहत हुने र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्नेछ। ‘कोरलामा भन्सार, अध्यागमन कार्यालय खुलेर वारपार व्यापार हुने हो भने रोजगारी सिर्जना हुन्थ्यो, व्यापार बढ्थ्यो ।’

दशगजाको २४ नम्बर पिलरपारि चीनले भव्य संरचना बनाइसक्दा नेपालतर्फ भने कुनै तयारी छैन । चीनले कोरलाबाट ढोङ्वासेनतर्फ १० किलोमिटर सडक कालोपत्र गरिसकेको छ । कोरलापारि भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि दुई वटा भवन बनाइसकेको छ । झन्डै ३० किमि पर लिझीमा सुक्खा बन्दरगाह तयार छ । समुद्री सतहबाट ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको कोरलामा नेपालतर्फ भने सुक्खा बन्दरगाहका लागि जग्गा छुट्याइएको छ ।

 सुक्खा बन्दरगाह बनाउन पुग्ने गरी १ हजार ७ रोपनी मुस्ताङ भन्सार कार्यालयको नाममा आएको छ । पार्किङ, कार्यालय, चेकपोस्ट, सुरक्षाका लागि त्यति जग्गा पर्याप्त हुने ठानिएको छ । मेला हुन छाडेपछि सीमाबाट १४ किलोमिटर तल नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय अहिले बन्दजस्तै छ । १०७ रोपनीमा भन्सार कार्यालयको दुई कोठे भवन छ । भन्सारमा ३ कर्मचारी छन् । सदरमुकाम जोमसोममा सम्पर्क कार्यालय बनाउन ७ रोपनी जमिन भन्सारको नाममा भए पनि कुनै पूर्वाधार बनेको छैन । बरु जोमसोममै कोठा भाडामा लिएर कार्यालयका सामग्री राखिएको छ । हाल भन्सार कार्यालय रहेको नेचुङमा ०७७ जेठबाट सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राखिएको छ । बीओपीमा २७ सशस्त्र प्रहरी छन् ।

गृहको पास दिन इलाका प्रशासन कार्यालय लोमन्थाङले स्थानीयको विवरण संकलन गरिरहेको छ । एक सातापछि पास वितरण सुरु हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो।