तिब्बतमा ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’
2023-10-07 16:22:05cri
Share with:

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाल र चीनबीचको मित्रता अन्तर्राष्ट्रिय परिस्थितिबाट परीक्षित भएको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि साझा जितको स्वस्थ सम्बन्ध कायम गर्न दुवै मुलुक सफल भएको बताउनुभएको छ।

 बिहीबार तिब्बतमा आयोजित एक कार्यक्रमपछि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय परिस्थिति जे जसरी परिवर्तन भए पनि नेपाल-चीन सम्बन्धले स्वस्थ तथा स्थिर विकासलाई कायम राख्दै समानता र साझा जितको व्यवहारिक उदाहरण प्रस्तुत गरेको छ।’

 सेप्टेम्बर २३ देखि प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको साताव्यापी लामो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ परराष्ट्रमन्त्री वाङले दुई देशका नेताहरूबीच भएका महत्त्वपूर्ण सहमतिहरूलाई दुवै पक्षले संयुक्त वक्तव्यमार्फत सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा सहयोगका खाका कोरेको बताउनुभयो।

 भेटमा मन्त्री वाङले सन् २०१९ पछि नेपाल-चीन उच्चस्तरीय भ्रमणका साथै हालै नेपालका प्रधानमन्त्रीले गरेको चीन भ्रमणलाई निकै महत्त्वका साथ लिएको बताएको तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

 आफ्नो राष्ट्रिय परिस्थितिअनुसार विकासको बाटो रोज्न र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न चीन सधैँ सकारात्मक रहेको मन्त्री वाङले सुनाउनुभयो। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रिय विकास र पुनर्निर्माणमा नेपालको भरपर्दो साझेदार बन्न चीन इच्छुक रहेको वाङले बताउनुभयो।

 अक्टोबर ४ तारिखदेखि तिब्बतको लिन्च सहरमा भएको ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’मा भाग लिनका लागि राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको नेतृत्वमा एक टोलीले तिब्बत भ्रमण गरेको हो।

 फोरमको सिलसिलामा भएको भेटमा मन्त्री वाङले हिमालयपार मञ्च क्षेत्रीय कनेक्टिभिटी र साझा विकासका लागि महत्वपूर्ण मञ्च भएको बताउनुभयो। तिब्बतका हिमाल र नदीनालासँग जोडिएको नाताले नेपालले वातावरणीय संरक्षणका क्षेत्रमा दुई पक्षबीचको सहकार्यलाई मजबुत बनाउन र मानव जातिको दिगो विकासमा संयुक्त रुपमा योगदान पुर्याउन मञ्चलाई सदुपयोग गर्नसक्ने अपेक्षा प्रकट गर्नुभयो।

 भेटवार्तामा उपाध्यक्ष अर्यालले चीनको विकास अनुभवबाट नेपालले सिक्नसक्ने भन्दै दुई देशबीच सहयोगका क्षेत्रहरू निरन्तर विस्तार भइरहेकाले द्विपक्षीय सम्बन्धको ठूलो महत्त्व रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, ‘दुवै पक्षले एकअर्काको मुख्य चासो र प्रमुख तथा संवेदनशील विषयमा एकअर्कालाई सदैव सहयोग गर्दै आएका छन्, जुन द्विपक्षीय सम्बन्धको विकासको आधार हो।’

 यसअघि तेस्रो चीन,तिब्बत ट्रान्स हिमालयन फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले तिब्बत नै नेपालका लागि मुख्यभूमि चीन हुँदै पूर्वी, उत्तर र पश्चिम एसियाका क्षेत्र र त्यसभन्दा बाहिरका अन्य धेरै देशहरूमा पुग्ने नेपालको एक मात्र सीमा क्षेत्र भएको बताउनुभयो। बेल्ट एण्ड रोड इनिसिएटिभका कारण आपसी संलग्नता र अन्तरक्रिया बढेको भन्दै उनले नेपालले ‘एक चीन नीति’लाई दृढताका साथ पालना गरेको बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

 सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणसहित विभिन्न उच्चस्तरीय आदानप्रदानले नेपाल चीन सम्बन्ध थप प्रगाढ बनेको उहाँको तर्क थियो।

 त्यसक्रममा उहाँले द्विपक्षीय आदानप्रदान, कोभिड–१९ महामारीमा चीनको सहयोग, तिब्बतको सहयोगमा नेपालमा पहिलो पटक तरल अक्सिजन र एन्टि-कोभिड चिकित्सा सामग्रीको आपूर्ति, विकासशील राष्ट्रमा स्तरोन्नति हुने नेपालको चाहनामा चिनियाँ सहयोगको प्रतिबद्धता, अन्तर्राष्ट्रिय स्थल बन्दरगाहहरूबाट पुनः व्यापार र अन्य नाका खोल्ने प्रक्रियालगायतबारे चीनको स्पष्ट अडानको पनि प्रशंसा गर्नुभयो।

 मञ्चको यो तेस्रो संस्करणमा नेपालसहित दक्षिण एसियाली मुलुक भुटान, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्काका अलावा रसिया, चिली, नर्वे, इटाली लगायत हिमालय क्षेत्रसँग जोडिएका ३५ देशबाट प्रतिनिधिहरूको सहभागिता छ। फोरम (४– ६) मा नेपालबाट राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले ‘की नोट स्पिच’ दिनुभएको थियो।

फोरममा भाग लिन उपाध्यक्ष अर्याल सहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, अनिता देवकोटा, नरपति लुवार, मदन कुमारी शाह र मोहम्मद खालिद सहभागी रहेको भ्रमण दलमा सहभागी संचारकर्मी डिल्ली मल्लले जानकारी दिनुभयो।

 तिब्बतको लिन्च सहर र नेपालको पोखराबीच भगिनी सहर सम्बन्ध छ। यसै सन्दर्भमा नेपालले विशेष सांस्कृतिक प्रस्तुति दिन पाएको थियो भने नृत्यको पृष्ठभूमिमा पोखराको भिडियो सामग्री प्रसारण गरिएको थियो।