हाङ्चौ एसियाली खेलकुदः लेखक तथा खेल पत्रकार नबिन अर्याल।
2023-10-08 17:22:17cri
Share with:

पहिलो पटक चीनको हाङ्चौ आएका पत्रकार तथा ‘नेपाली खेलकुदको वृत्तान्त’ नामक ऐतिहासिक पुस्तकका लेखक नबिन अर्यालले चीनसँगको नेपाली खेलकुद सम्बन्ध निकै गहिरो र पुरानो भएको पाउनुभयो। सीएमजी नेपाली सेवासँगको कुराकानीमा उहाँले थप इतिहास बुझ्ने इच्छासहित खेलकुद समारोहमा सहभागी भएको बताउनुभयो।

 

एसियाली खेलकुदमा नेपाली टिमको सहभागिताबारे उहाँ भन्नुहुन्छ, ‘एउटा खेलाडीका लागि यति ठूलो मञ्चमा आएर खेल्न पाउनु ठूलै कुरा हो। यो जसलाई पनि चाहना हुन्छ। तर त्यो भन्दा पनि बढी समग्र एसियन गेमको स्तर र त्यो देशहरुको सहभागिताका हिसाबले हाम्रो (नेपालको) प्रस्तुती कस्तो हुनुपर्छ भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हुन्छ। किनभने यति ठूलो इभेन्टमा जहिले पनि हारेर जाँदा देशको इज्जत रहँदैन। सरकारले बढी ध्यान दिनुपर्छ। कुनै पनि गेम आजको भोलि नै वा तत्कालै हुने होइन। प्रतियोगिता हुने कुरा त्यस्तै ८ / ४ वर्षअगाडि नै थाहा हुन्छ भने नेपाल सरकारले बेलैमा तयारी गर्नुपर्छ। टार्गेट र सोच बनाएर मेडलको लक्ष्यका साथ योजनाबद्ध तयारी गर्दा केही न केही फल प्राप्ति हुन्छ। हाम्रो अगाडि त १९८६ को सिओल एसियन गेम्स नै उदाहरण छ नि, जतिखेर बक्सिङ र तेक्वान्दोमा ४/४ गरी नेपालले ८ वटा मेडल जितेको थियो। तर त्यसपछि कहिल्यै राम्रो नतीजा आएन। यद्यपि बिचमा केही रजत पदकहरू आएको छ। मेडलको काउन्टिङको हिसाब किताबले त्यति राम्रो होइन। त्यतिखेर २ वर्षको ‘प्लानिङ’ अनुसार तयारी गरेकाले ८ वटा पदक जित्न सकेको हो। अहिलेको खेलकुद गन्तव्यविहीनजस्तो भएको देखिन्छ।’

हाङ्चौको खेल पूर्वाधार- विश्वस्तरको रहेको बताउँदै लेखक अर्याल वातावरणीय कुराहरूलाई आयोजक देशले प्राथमिकतामा राखेको र कम कार्बन उत्सर्जनको कुरा उठाएकोले निकै अर्थपूर्ण लागेको ठान्नुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘फोहर मैला कतै देखिँदैन। जहाँ पनि भेन्यू हेर्दा उत्कृष्ट देखिन्छ, विश्वस्तरीय देखिन्छ। मलाई लाग्छ, यो एसियन गेम्सले अर्को ‘ल्याण्डमार्क’ हो। यो हाराहारीको खेलस्थल र व्यवस्थापन देख्दा ओलम्पिक भन्दा कम देखिँदैन।’

 

हाङ्चौ एसियाली खेलकुद रेकर्ड र ऐतिहासिकताका हिसाबले पनि महत्वपूर्ण छ।  

गेमहरू बढेका छन्, खेलाडीको संख्या बढेको छ। चीन, भारत लगायत ठूला देशहरुको बढेको छ, रेकर्ड बनेको छ। ई-स्पोर्टलाई परिचय गराएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको जमाना आइरहेको छ, यसलाई अगाडि बढाएको छ। हाङ्चौले कला संस्कृतिलाई आधुनिक प्रविधिको पुस्तासँग जोड्न खोजेको देखिन्छ।

 

हरित, एआई, वातावरणीय सुरक्षाको विषयमा पनि चीनले हाङ्चौ एसियाली खेलकुदमार्फत् जुनखालको सन्देश छोडेको छ, त्यही स्तरमा भोलि अरू देशहरूले यो खेलकुद आयोजना गर्न ठूलो चुनौती दिएको बताउँदै लेखक अर्यालले अरू कतिपय देशका यति ठूला इभेन्ट आयोजना हुँदाखेरी निकै भद्रगोल देखिने कुरा पनि चीनले सहजै व्यवस्थापन गर्नु र पर्यारणीय कुरालाई खेलमा ‘लिंक अप’ गर्नु निकै सराहनीय पक्ष रहेको बताउनुभयो।