तातोपानीबाट निर्यातलाई प्राथमिकता दिनुपर्ने व्यवसायीको आग्रह
2023-10-08 16:26:20cri
Share with:

भूकम्पको आठ वर्ष पाँच महिनापछि उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि खुलाइएपछि निर्यातलाई प्राथमिकता दिनुपर्ने स्थानीय र व्यवसायीको आग्रह छ। भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । पूर्णरूपमा खोलिएको नाकामा हालसम्म आयात दिनहुँ बढ्दो रहेको भोटेकोशी चेम्बर अफ कमर्सले जनाएको छ।

 भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थे। यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए । चीनतर्फ निर्यात निकै कम रहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख दयानिधि केसीले बताउनुयभो।

 वैशाख १८ मा निर्यात खुलेलगत्तै ७ कन्टेनरमा मुढा, मेट्रेस, कुर्सीलगायत ४३ लाख बराबरका सामग्री चीनमा पैठारी गरिएको थियो । यस वर्ष ४ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य राखिएकामा अहिलेसम्म एक अर्ब ८० करोड संकलन भएको छ । कान्तिपुर अनलाइनका अनुसार नाका सर्वसाधारणका लागि खोलिएयता राजस्व बढ्ने अनुमान छ ।

चिनियाँ कम्पनीले तातोपानीबाट सामग्री नमगाएका कारण निर्यात नियमित हुन नसकेको सिल्क ग्रुपका व्यवसायी विजय शेर्पाले बताउनुभयो । रसुवागढी नाकाभन्दा कम दूरी पर्ने भए पनि तातोपानीबाट सामग्री निर्यातमा चासो नदिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतको भनाइ छ ।‘काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ र रसुवागढी १ सय ६४ किलोमिटर दूरीमा पर्छ, केरुङभन्दा तातोपानीबाट सिगात्से ३० किमि कम पर्छ । चीनको जुनसुकै कम्पनीबाट झिकाएका सामग्री खासाबाट तातोपानी पुग्न १२ देखि १५ दिन लाग्छ, बस्नेतले भन्नुभयो।