चिनियाँ जस्तै भारतीय पर्यटकको रोजाइमा पोखरा
2023-10-08 16:26:58cri
Share with:

चिनियाँ जस्तै भारतीय पर्यटकको रोजाइमा पोखरा बन्न थालेको छ। पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ। फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताउनुभयो। हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उहाँको भनाइ थियो । 

 दोस्रोपल्ट पोखरा आउनुभएका उहाँले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिनुभयो। अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताउनुभयो। उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ। हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन्।

 पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ। विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ। भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उहाँको बुझाइ छ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताउनुभयो। उहाँले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो ।

 उहाँले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिनुभयो। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताउनुभयो।

 उहाँले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भन्नुभयो, “धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उहाँहरुको गुनासो छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच,  शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उहाँहरुको गुनासो छ।”

पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ। अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उहाँले जानकारी दिनुभयो। रासस