बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्धः प्रधानमन्त्री
2023-10-08 16:21:22cri
Share with:


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ। आइतबार बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको गोरखापत्र अनलाइनमा खबर छ।

 प्रधानमन्त्रीले विद्युत व्यापार नेपालका लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल सम्पन्न नभइकन नेपालका कुराहरु शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै उहाँले यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको पनि बताउनुभयो ।

 

उहाँले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बीआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले विगत १० वर्षमा बीआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको जानकारी दिनुभयो।

उहाँले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले बीआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताउनुभयो।