नेपालमा रासायनिक मल र विषादीको आयात बढ्दो, खाद्य उत्पादन घट्दो
2023-10-09 16:09:24CRI
Share with:

नेपालमा रासायनिक मल विषादीको आयात बढ्ने गरेको र खाद्य उत्पादन घट्ने गरेको पाइएको छ। विश्व खाद्य दिवसको सन्दर्भ पारेर आइतबार चितवन रामपुरको कृषि तथा वन विद्दान विश्वविद्यालयमा आयोजना भएको कार्यक्रममा सार्वजनिक भएको विवरणमा रासायनिक मलको आयात साढे ६ गुणा र रासायनिक विषादीको आयात १० देखि २० प्रतिशतसम्म बढेको उल्लेख छ।

खाद्यका लागि कृषि अभियानको सचिवालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

विवरण अनुसार नेपालमा खाद्य उत्पादन तीन दशमलब ११ प्रतिशतले घटेको देखिन्छ। कृषि विभाग, भन्सार विभाग र तथ्याङ्क विभागको विवरणहरुलाई आधार मानेर प्रतिवेदन तयार गरेको खाद्यका लागि कृषि अभियानका सिर्जना पौडेलले बताउनुभयो। सरकारले आर्थिक वर्ष ०७९/८० मा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको मल र एक हजार १३५ टन विषादी आयात भएको उक्त विवरणमा उल्लेख छ । 

कान्तिपुर अनलाइनका अनुसार नेपालमा आर्थिक वर्ष ०६७/६८ मा ६ अर्ब र आर्थिक वर्ष ०७७/७८ मा २३ अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात भएको देखिन्छ । त्यसै गरी आर्थिक वर्ष ०६७/६८ मा २११ टन विषादी आयात भएकोमा आर्थिक वर्ष ०७८/७९ मा यो मात्रा एक हजार १३५ टन पुगेको विवरण अभियानले सार्वजनिक गरेको छ । मल विषादीले माटो र मान्छेको स्वास्थ्यमा असर परेको कृषि अभियन्ताहरुले बताए। 

त्यसै गरी आर्थिक वर्ष ०७८/७९ मा देशमा खाद्यन्न उत्पादन एक करोड सात लाख टन रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षभन्दा तीन दशमल ११ प्रतिशतले खाद्य उत्पादनमा कमी आएको पौडेलले बताउनुभयो। त्यसैगरी कृषि वस्तु आयातको अवस्था पनि विकराल छ । आर्थिक वर्ष ०७९/८० मा मात्रै दुई खर्ब ४२ अर्ब रुपैयाँ जतिको कृषि उपज आयात भएको विवरण छ। निर्यात ६० अर्ब रुपैयाँको हाराहारीमा हुने गरेको छ।