आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै
2023-10-10 15:51:59CRI
Share with:

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको अक्टोबर १० मा यो दिवस मनाइने गरिन्छ। मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यस वर्ष यो दिवस मनाइँदै छ।

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा.सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउनुभयो। उहाँका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ। ‘युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ’, डा.ओझा भन्नुहुन्छ, ‘व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ। आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ।’

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको सुझाव छ। मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ। मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उहाँको भनाइ छ।

नागरिकन्यूज डटकमका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणेन्द्र बरालले बताउनुभयो।