नेपालमा विद्युतीय सवारीसाधनको आयात बढ्दो
2023-10-11 15:39:13CRI
Share with:

चाडपर्व नजिकिएसँगै वीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधन जाँचपास बढ्न थालेको छ। अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष दसैं तथा तिहार पर्व नजिकिएसँगै सबै खाले सवारी साधन जाँचपास हुने अनुमानविपरीत विद्युतीय कार बढी जाँचपास भई छुटिरहेका छन्। इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीबाट असोज १ देखि मंगलबारसम्म ६७ वटा विद्युतीय कार जाँचपास भएका छन्।

सबै कार संघीय राजधानी काठमाडौंतर्फ गएका छन्। ‘उपभोक्तामा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढ्दो रहेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘असोज लागेयता इन्धनले चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधन नै जाँचपास हुने क्रम बढेको छ ।’

सामान्यतया सवारी साधन आयातकर्ताले ग्राहकले सवारी साधन बुकिङ गरेपछि मात्र वीरगन्जबाट जाचपास गराई काठमाडौं लग्ने गरेका कान्तिपुर अनलाइन लेख्दछ।  यसरी एउटै आयातकर्ताले एक महिना नपुग्दै ६५ सवारी साधन जाँचपास गराउनु र थप डेढ दर्जन आयात गर्नुले विद्युतीय सवारी साधनको माग बढ्दो क्रममा रहेको संकेत मिल्ने ज्ञवाली बताउनुहुन्छ।

यसबाहेक असोज महिनामै आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टलले २ वटा हुन्डाईको आयोनिक/कोना विद्युतीय कार जाँचपास गरायो। आर्थिक मन्दी र अटोलोनमा अझै पनि समस्या रहेकाले यी सवारी साधनको बिक्री नै कम रहेको छ। जसको कारण यस्ता सवारी साधन वीरगन्जबाट जाँचपास हुने क्रम ह्वात्तै घटेको छ। 

तुलनात्मक रूपमा विद्युतिय सवारी भन्दा इन्धनबाट चल्ने सवारी साधन महगा हुन्छन्। वीरगन्ज नाका मुलुककै सर्वाधिक सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो।