इन्टरनेटको पहुँचले गर्दा नेपालमा किनमेलको तरिका बदलिँदै
2023-10-11 15:55:30CRI
Share with:

चाडबाड नजिकिएसँगै बजारमा चहलपहल बढ्दो क्रम जारी छ । सूचना प्रविधिको आजको युगमा अनलाइनमार्फत आफूलाई चाहेको वा मन परेको सामान घरैमा उपलब्ध हुने सहज वातावरण बनेको छ। आधुनिक प्रविधिको प्रयोगसँगै सरसामान खरीदबिक्रीको तौरतरिका पनि बदलिँदै गएको अवस्था छ। काठमाडौंको नयाँ सडकमा व्यवसाय गर्दै आउनुभएका धनराज बराल भन्नुहुन्छ, “पहिलेभन्दा अहिले फरक डिजाइनको सामानको माग हुन्छ। मोबाइलमा टिकटक देखाउँदै सोही किसिमको सामान खोज्दै ग्राहक आउनुहुन्छ।” 

व्यस्त जीवनशैलीका कारण सामाजिक सञ्जालमा राखिएका सामान सहजै प्राप्त हुनु एकातर्फ खुसीको विषय हो। तर यसरी सञ्जाल वा अचेल विशेषगरी टिकटकमा सामानको गलत प्रचारप्रसार भएका कारण उपभोक्ता भ्रममा पनि पर्ने गरेका छन्। 

यसरी सामाजिक सञ्जालमा राखिएको सामानको मूल्य र बजारको यथार्थ भाउ नमिल्दा उपभोक्ता अलमलमा पर्ने गरेको बरालको भनाइ छ । असनका व्यापारी सुनिल बानियाँले दसैंको चहलपहल बढे पनि व्यापार भने बर्सेनि खस्कँदै गएको गुनासो गर्नुभयो । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कम हुँदै गएकाले यो अवस्था आएको उहाँको भनाइ छ।

घटस्थापनाका दिनमा जमरा राखी नौ दिनसम्म देवीको पूजाआजा गर्ने र दशमीका दिन आफूभन्दा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद थापेर दसैं मनाउने चलन छ। यो बेला पिङ खेल्ने, चङ्गा उडाउने, साथीभाइ आफन्तजन भेटभाट हुने र रमाइलो गर्ने चलन छ ।

आधुनिक प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण मानिसको जीवनयापन र चाडबाड मनाउने संस्कृति र शैलीसमेत यसको प्रभाव बढ्दै गएको छ। गोरखापत्र अनलाइन।