नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह
2023-10-11 15:50:43CRI
Share with:

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ। भेटमा अर्थमन्त्री डा. महतले आइएफसीले नेपालमा नवीन वित्तीय उपकरणमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आइटी, कृषि-व्यवसाय, पर्यटन र अन्य स्टार्टअपजस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्ने विषयमा जोड दिनुभयो। 

बैठकमा निजीक्षेत्रको लगानी प्रवर्द्धन गर्न सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू (विशेषतः इक्विटी एक्सपोजर) मा विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ। बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा पेश गर्न लागेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता अर्थमन्त्रीले जनाउनुभयो। 

आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबद्र्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा प्रशंसा गर्नुभयो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसियाक्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा छलफल भएको नागरिकन्यूज डटकमले जनाएको छ।