कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
2023-10-12 16:01:55CRI
Share with:

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवलस्थित सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने पूर्वाधार तयार भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। 

पहिलो खण्डमै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन्। दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू राखिएका छन्। 

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सोमबारदेखि चार्ज गरी सञ्चालन गरिएको छ। यस खण्डमा २३६ वटा टावरहरू निर्माण गरिएको छ।

सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएका छन्। नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको नागरिकन्यूज डटकमले जनाएको छ।

दोस्रो खण्ड सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रूपन्देही लगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताउनुभयो।

उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् स्थानीयतहमा खपत गरी बाँकी कालीगण्डकी करिडोर प्रसारण लाइन हुँदै नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गरिएको छ। मुस्ताङ, म्याग्दीलगायतका जिल्लाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् पनि यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ।

रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९ महामारीलगायतका कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो। पर्वतको फलेवास नगरपालिका–६ का स्थानीयले प्रसारण लाइन निर्माणबाट देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै तीन वर्षभन्दा बढी  प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए। स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार वटा टावरहरू निर्माण प्रभावित भएको थियो।

सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली बिस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो। आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रूपैयाँ छ। नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ।