निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई उद्योग वाणिज्य क्षेत्रको आग्रह
2023-10-12 16:05:26CRI
Share with:

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गर्दै निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको छ। काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिनुभयो। ‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’ 

अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताउनुभयो। अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गर्नुभयो। ‘अर्थतन्त्र समस्यामा छ तर राज्य अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम भइरहेको छ,’ अध्यक्ष ढकालले प्रश्न गर्नुभयो, ‘यसरी गएर कहाँ पुगिन्छ?’ 

अनलाइनखबरका अनुसार संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाउनुभयो।

राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उहाँले आरोप लगाउनुभयो। आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेषको वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएको बताउँदै ढकालले तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको गुनासो गर्नुभयो।

आर्थिक सुधारका लागि तत्काल नयाँ पुस्ताको आर्थिक सुधार घोषणा गर्न र आर्थिक सुधार आयोग वा संयन्त्र घोषाणा गर्न सरकारसँग माग गर्नुभयो।