उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा नेपालले बीआरआई सम्मेलनमा भाग लिने
2023-10-12 15:49:01CRI
Share with:

नेपालले चीनको बेइजिङमा हुने तेश्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीले सहभागिता जनाउने भएको छ। उक्त सम्मेलन बेइजिङमा यही अक्टोबर १७ र १८ मा हुँदैछ। 

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाली खेलकुदको उद्घाटन समारोहमा सभागिता जनाउँदै चीनको भ्रमण गर्नुभएको थियो। त्यसपछि हुन लागेको बीआरआईको १० औं सम्मेलनमा सरकारले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई पठाउन लागेको हो । कूटनीतिक स्रोतका अनुसार सुरुआतमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको नेतृत्वमा जाने गरी गृहकार्य गरे पनि पछि उपप्रधानमन्त्री श्रेष्ठकै नेतृत्वमा नेपाली टोली जान लागेको हो ।

कान्तिपुर अनलाइनका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वमा सन् २०१३ मा बीआरआईको सुरुआत गर्नुभएको थियो। त्यसलाई सुरुआतमा वान बेल्ट वान रोड भनियो । तर सन् २०१५ बाट बेल्ट एन्ड रोड इनिसिएटिभ नामकरण गरिएको हो। 

नेपालले सन् २०१७ मा बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको हो । तर उक्त इनिसियटिभबाट नेपालले हालसम्म कुनै पनि परियोजना अघि बढाएको छैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणमा पनि उक्त परियोजनाको बारेमा नेपालले सकारात्मक सन्देश दिए पनि परियोजनाको सवालमा भने कुनै पनि प्रगति भएन।

चीनले नेपालसँग बीआरआई प्रोग्राम इन्म्पिमेन्टेसन प्लान’मा हस्ताक्षर गर्न आग्रह गरेको थियो। तर नेपालले बीआरआई अन्तर्गत अनुदान र सहुलियत ऋणमात्र लिने सन्देश चीनलाई दियो।