नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह
2023-10-13 15:38:29CRI
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)की कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको हो।

उहाँले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गर्नुभयो। अनलाइनखबरका अनुसार सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ। जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन्। 

ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो। २०७९ फागुनमा ईयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो। तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएको छैन। 

यस वर्ष गत साउन र भदौमा ईयूको हवाई सुरक्षा कमिटिले नेपाली वायू सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ। अघिल्लो वर्ष नोभेम्बरमा ईयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासोमै थियो।

हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा अर्थमन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गर्नुभयो। भेटमा जुट्टा उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताउनुभयो।