नेपालको सुधारबाट आईएमएफ स‍न्तुष्ट, पुँजीगत खर्च बढाएर अर्थतन्त्र बलियो बनाउन सुझाव
2023-10-14 16:26:48CRI
Share with:

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त विभागका प्रमुख कृष्णा श्रीनिवासनले नेपाल सरकारले गरिरहेको अर्थतन्त्रको संरचनात्मक सुधारको कामबाट आफूहरु सन्तुष्ट रहेको बताउनुभएको छ। मोरेक्कोको मराकेसमा एसिया प्रशान्त क्षेत्रका देशको आर्थिक दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा श्रीनिवासनले गत वर्ष नेपालको आर्थिक वृद्धि न्यून रहेकाले राजस्व संकलनमा गिरावट आएको बताउनुभयो। 

‘राजस्व संकलन न्यून हुनुको साथैं बजेट अनुशासनमा देखिएको केही समस्याले नेपाल सरकारको वित्त घाटा बढिरहेको छ । आन्तरिक ऋण पनि बढ्दो क्रममा छ,’ मराकेसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रीनिवासनले भन्नुभयो, ‘जलविद्युत क्षेत्रमा भएको सुधार र पर्यटनमा भएको प्रगतिले यो वर्ष ३.५ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने हाम्रो अनुमान छ ।’

गतवर्ष कोषले नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशतले हुने अनुमान गरे पनि राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले बढेको थियो । कोषले गतवर्ष नेपालको अर्थतन्त्र ०.८ प्रतिशतले वृद्धि भएको जनाएको छ। गत अप्रिलमा कोषले नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतले हुने अनुमान गरे पनि अहिले भने आर्थिक वृद्धिको लक्ष्य घटाएको छ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटले बजारमा माग बढाउन सहयोग गर्ने श्रीनिवासनको अपेक्षा छ। परियोजना कर्जा लिँदै निर्धारित समयमा काम गर्न सकियो भने बजारमा माग बढ्नुको साथैं अर्थतन्त्रको आकार पनि बढ्ने र सार्वजनिक ऋण घटाउन सहयोग हुने श्रीनिवासनको भनाइ छ। क्लिकमाण्डु।