चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक, ९ महिनामै १२ हजार २ सय ९२ पर्यटक पदमार्गमा
2023-10-14 16:06:09CRI
Share with:

चक्रीय अन्नपूर्ण पदमार्गमा दैनिक १ सय ८८ सम्म विदेशी पर्यटक घुम्न आउने गरेका छन् । सेप्टेम्बर अन्तिमसम्म दैनिक १ सय ७६ पर्यटक आउने गरेको यस पदमार्गमा अगस्टको तुलनामा सेप्टेम्बरमा पर्यटक आगमन भारी वृद्धि भयो । अक्टोबर पहिलो साता सबैभन्दा बढी २ तारिखमा १ सय ७९, ३ तारिखमा १ सय ८८ र ४ मा १ सय ७२ पर्यटक भित्रिए । यो साता दैनिक डेढ सय पर्यटक घटेका छैनन् । सेप्टेम्बरमा २५ तारिखमा १ सय ६२, २७ तारिखमा १ सय ७६ र २८ तारिखमा १ सय ४० पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग आए ।

 

कान्तिपुर अनलाइनका अनुसार सेप्टेम्बरमा मात्रै २ हजार २ सय ५७ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले जनाएको छ । अगस्टमा भने ३ सय १६ जना पर्यटक मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा आए । ९ महिनामा मात्रै १२ हजार २ सय ९२ पर्यटक लमजुङ सदरमुकाम बेंसीसहरको बाटो भएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश गरेको एक्याप पर्यटक चेकजाँच केन्द्र धारापानीका पर्यटन सहयोगी टोमकाशी गुरुङले बताउनुभयो। सन् २०२२ मा १५ हजार ९ सय ३ विदेशी चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । सन् २०२१ मा वर्षभर २ हजार ३ सय ७६ पर्यटक आएको उहाँको भनाइ छ ।

सन् २०२० मा ७ महिना पर्यटक आगमन शून्य भयो । बाँकी महिना १ हजार ९ सय ७६ पर्यटक भित्रिए । कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेपछि सन् २०२० को मार्च १४ देखि पर्यटक आगमन थिएन । सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए । सन् २०१९ को डिसेम्बर अन्तिमतिर वुहानबाट कोभिड फैलिएपछि दुई वर्ष पूर्ण रूपमा पर्यटक आगमन प्रभावित बन्यो । सन् २०२३ सहित पछिल्लो ३ वर्ष पर्यटक आगमन बढ्दै गएको पर्यटक चेकजाँच केन्द्र धारापानीका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। पर्यटन आगमन अझै बढ्ने उहाँको दाबी छ ।

यस वर्ष जनवरीमा १ सय ८४, फेब्रुअरीमा ४ सय ९९, मार्चमा २ हजार ७ सय ३६, अप्रिलमा ४ हजार २ सय २१, मेमा १ हजार ५ सय ७१, जुनमा २ सय ५२, जुलाईमा २ सय ५६, अगस्टमा ३ सय १६ र सेप्टेम्बरमा २ हजार २ सय ५७ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका छन् ।

सन् २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा १ सय ६९, मार्चमा १ हजार २ सय ३१, अप्रिलमा २ हजार ३ सय ८२, मेमा १ हजार ९६, जुनमा १ सय ९५, जुलाईमा १ सय ९६, अगस्टमा ३ सय ६७, सेप्टेम्बरमा २ हजार ९२, अक्टोबरमा ४ हजार ६ सय ५४, नोभेम्बरमा २ हजार ९ सय ८१ र डिसेम्बरमा ४ सय ९९ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएको धारापानी चेकपोस्टको तथ्यांकले बताउँछ । मनाङमा पछिल्ला वर्षमा पर्यटक आगमन बढ्दै गएको छ । ‘पछिल्लो पर्यटक आगमन गतिले मनाङका व्यवसायीलाई फाइदा पुगेको छ,’ पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो । कोभिडमा घाटा बेहोर्नुपरेको व्यवसायलाई पछिल्लो पर्यटक आगमनले बिस्तारै घाटा पूर्ति हुँदै गएको छ । कतिपय होटल पहिल्यै बुकिङ हुने गरेको छ।

पदमार्गमा बढी फ्रान्स, इजरायल, जर्मनीबाट पर्यटक आउने गरेको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलको भनाइ छ । कोभिडका कारण दुई वर्ष सुनसान जस्तै बनेको चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले दिनदिनै डेढ सयभन्दा बढी पर्यटक आउने गरेका छन् । पर्यटक शान्त वातावरण चाहने भएकाले यहाँको वातावरण र शान्ति सुरक्षाको प्रत्याभूतिले पर्यटक आगमनमा फरक पर्ने उहाँले बताउनुभयो।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङको थोराङ्ला भन्ज्याङ (५४१६ मिटर) भएर मुस्ताङको मुक्तिनाथ, म्यादी हुँदै पोखरा पुगेर टुंगिन्छ । कोही पर्यटक विश्वप्रख्यात तिलिचो ताल (४९१९ मिटर) पुगेर फर्किन्छन् । पहिले २१ दिन पैदल हिँडेर चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गरिँदै आएकामा अहिले म्याग्दीबाट जोमसोम हुँदै मुक्तिनाथ मोटरबाटो बनेको छ । बेंसीसहरबाट मनाङको माथिल्लो मनाङ गाउँसम्म सडक सुविधा छ । अब अन्नपूर्ण पदमार्गको यात्रा १ सातादेखि १० दिनमा झरेको छ ।