सुरुङ मार्ग निर्माण पुनः सुरु
2023-10-15 15:46:13CRI
Share with:

केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणका क्रममा सुरुङ मार्गको पूर्वी पोर्टको ८३ मिटरमाथि खाडल पर्दा क्षति भएको नौ वटा घरलाई अस्थायी स्थान्तरण गर्ने सहमति भएको बताउँदै सहमतिसँगै शनिबारदेखि सुरुङको काम पुनः सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार पीडित पक्ष, त्यस क्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहबरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको हो । 

सो सुरुङ मार्ग आयोजना क्षेत्रका आमनागरिकको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको निर्देशन बमोजिमसमेत स्थानीयसँग सहमति भएको मन्त्री ज्वालाले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “सुरुङ मार्ग निर्माणका क्रममा उत्पन्न भएका समस्याहरूलाई समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा समिति गठन गरिएको छ। सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्यो ? त्यहाँका अरू कति निजी घरहरूमा केकस्ता क्षति पुगेका छन्, त्यसका कारण पत्ता लगाउन र पीडितहरूलाई स्थानान्तरणको व्यवस्था गर्न समिति गठन गरिएको छ ।” 

त्यसै गरी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णयसमेत भएको मन्त्री ज्वालाले बताउनुभयो। मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरेर तत्काल समस्या समाधान गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताउनुभयो । 

मन्त्रीले ज्वालाले काम सुरु भएपछि अबको एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल छिचोल्ने गरी कामलाई तीव्रता दिन आयोजना प्रमुखलाई निर्देशन पनि दिनुभएको छ। मुख्य टनेल अब करिब सय मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। 

नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले सुरुङ मार्ग क्षेत्रका स्थानीयहरूका माग र त्यहाँ उत्पन्न समस्याबारे एक हप्ताभित्र प्रतिवेदन पेस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको निर्देशनबमोजिम निर्धारित समयमा नै प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभयो । सो प्रतिवेदनको कार्यान्वयन स्वरूप नै स्थानीयसँग सहमति भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले भदौ १६ गते चन्द्रगिरिमा आयोजित एक कार्यक्रमबाट सुरुङ मार्ग आयोजना प्रमुखलाई त्यहाँको समस्याबारे एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो। गोरखापत्र अनलाइन।