घर घरमा घटस्थापना गरेर आजदेखि हिन्दु नेपालीहरूको बडादशैं शुरू
2023-10-15 15:08:03CRI
Share with:

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ। नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ।

घटस्थापनाको दिन बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा शुभसाइत विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ। यसैलाई जमरा राख्ने भनिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले पहिलो दिन रोपेर दशमीको दिन पूजा विसर्जनपछि पूर्ण कलशको जलले अभिषेक गरी जमरालाई प्रसादका रूपमा परिवारका ज्येष्ठ सदस्य वा पुरोहितबाट ग्रहण गर्ने परम्परा रहेको छ। कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि छ।

दुर्गापक्ष पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ वटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ। दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ। सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, अन्य देवी स्तोत्र एवं स्तुति गरिने कुरा गोरखापत्र अनलाइनमा लेखिएको छ।

यसैबीच बडादसैँ सुरु भएसँगै बागमती प्रदेशको काठमाडौँ उपत्यका र विभिन्न जिल्लाका शक्तिपीठमा विशेष भिड लाग्ने गर्छ। काठमाडौँको भद्रकाली, सङ्कटा, महाङ्काल गुहेश्वरी, भाटभटेनी, नक्साल भगवती, शोभा भगवती, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भिड लाग्छ। 

त्यस्तै मकवानपुरका विभिन्न शक्तिपीठमध्ये भुटनदेवी मन्दिरसँगै हेटौँडाको चुरियामाई, दक्षिणकाली, वनस्खण्डी, पाथीभरा, त्रिवेणीधामस्थित देवीको मन्दिर, मकवानपुरगढी गाउँपालिकास्थित मनकामना, थाहा नगरमा रहेका वज्रवाराहीलगायतका मन्दिरमा दसैँमा दर्शन एवं भक्तजनले श्रद्धापूर्वक पूजाआजा गर्न पुग्छन् । 

चितवनको सबैभन्दा चर्चित शक्तिपीठ इच्छाकामना रहेको छ। साक्षात् देवीका रूपमा यो मन्दिर मुग्लिनबाट दक्षिण भेगमा डाँडामा रहेको छ। मन्दिरबाट गोरखा, मकवानपुरका क्षेत्र देख्न सकिन्छ। भक्तिभावका साथ पूजा गरी मागेमा इच्छा पूरा हुने विश्वास रहेको स्थानीय तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो। सुरुवातमा गुरुङले मात्र मान्दै आएको मन्दिरमा अहिले सबै समुदायको आस्थाको केन्द्र बन्दै गएको अधिकारीले बताउनुभयो । 

त्यस्तै रामेछापको प्रमुख पीठमध्ये खाँडादेवीमा, सिन्धुलीका विभिन्न शक्तिपीठमा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती, बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी, बनेपा नगरपालिका–४ मा रहेको उग्रचण्डी नाला भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ। त्यस्तै बनेपा नगरपालिका–४ मा रहेको नाला भगवतीको दर्शनले सङ्कट नाश गर्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। बनेपा नगरपालिका–५ मा रहेको चण्डेश्वरी मन्दिरमा पनि उत्तिकै भिड लाग्छ।