चीनको सम्रग प्रगतिबाट हामीले लाभ लिनुपर्ने छ नेपालका परराष्ट्रमन्त्री एनपी साउद
2023-10-16 20:12:25cri
Share with:

 

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनको छिमेकी मुलुक नेपालले चीनबाट धेरै कुरा सिक्नुपर्ने र लिनुपर्ने बताउनुभएको छ।

बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा आईतबार एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो। सो टोलीमा सम्मिलित नेपालका परराष्ट्रमन्त्री एनपी साउदले सीआरआई नेपाली सेवासँगको कुराकानीमा नेपाल चीन बीच प्राचीनकालदेखि नै घनिष्ट सम्बन्ध रहेको तथा चीनको अर्थतन्त्र र चीनको बेल्ट एण्ड रोडबाट नेपालले धेरै लाभ लिनसक्ने औँल्याउनुभएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुक चीन र चिनियाँ अर्थतन्त्रबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘चीन विश्वकै इमर्जिङ अर्थतन्त्र हो, छोटो समयमा ठूलो प्रगति गरेको छ। नेपाल चीनको छिमेकी मुलुक भएकोले धेरै कुरा हामीले सिक्नुपर्ने र लिनुपर्ने छ।’ ‘चीनसँग प्राचीनकालदेखि नै घनिष्ट सम्बन्ध रहँदैआएको छ र यसलाई अझ सघन बनाउँदैलैजानुपर्छ। चीनको आर्थिक विकास संसारकैलागि प्रेरणाको विषय छ,’ उहाँले भन्नुभयो।

यसै बीच, उहाँले चीनको बेल्ट एण्ड रोडमा नेपाल २०१७ मा आबद्ध भएको बताउँदै दुईवटा आयोजनाहरू छनौट भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बीआरआई २०१७ मा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ। कार्यान्वयनको क्रममा दुईटा आयोजनाहरू छनौट भइसकेका छन्। फिजिबिलिटीको चरणमा छ, अध्ययन पछि कार्यान्वयनमा जान्छ।’

परराष्ट्रमन्त्री साउदले ‘चीनको सम्रग प्रगतिबाट हामीले लाभ लिनुपर्ने अवस्था छ भएको पनि बताउनुभयो।