यसपटक शरद ऋतुमा हिमाल चढ्न ८ सय ८१ जनालाई अनुमति
2023-10-16 16:34:35cri
Share with:

शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन्।

 

पर्यटन विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोहीले अनुमति लिएका छन्। यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ।

 

सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १९८ जनाले अनुमति लिएका छन्।

 

हिमलुङ हिमालमा १४ टोलीका १११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ। पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ।

 

यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ संकलन गरेको समेत जानकारी गराएको अनलाइनखबरले खबर लेखेको छ।