३ जहाज चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउने
2023-10-16 16:38:50cri
Share with:

३ वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले नेपाल भ्रमण गर्ने भएका छन् । अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सका एयरबस ए–३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक आउने भएका कान्तिपुर अनलाइनमा खबर छ।

 

उनीहरूले काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान भ्रमण गर्नेछन् । नेपाली ट्राभल एजेन्सीको अगुवाइमा ३ जेट विमान चार्टर गरेर पर्यटक आउन लागेका हुन्। करिब १५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पछिल्ला दिनहरूमा बढ्दो छ ।

 

भियतनामबाट आउने केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने भ्रमण प्रवन्धक रुप्से होलिडेजले जनाएको छ ।

‘नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने भएका छन्’ एक विज्ञप्तिमार्फत कम्पनीले भनेको छ । उडानका क्रममा एकतर्फी रुपमा खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउन लागिएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताउनुभयो।

 

‘नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि १ लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेजको निर्माण गरिएको छ’, उहाँले भन्नुभयो ‘चार रात पाँच दिनको भियतनामको हनोईमा बसाइ, विभिन्न आकर्षक गन्तव्यको घुमाइ, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाइ टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकको उल्लेख्य आकर्षण रहेको छ ।’