खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला
2023-10-17 16:31:03cri
Share with:

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ। बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो।

आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ। बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ।

खसीबोकाको बिक्री कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री हुने छ। कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले मङ्गलबारदेखि खसीबोकाको बिक्री खुला गरिएको जानकारी दिनुभयो। जिउँदो खसी प्रतिकेजी ६८० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६७० रुपियाँमा बिक्री खुला गरिएको जानकारी दिनुभयो।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले मङ्गलबार बिहान ८ बजेदेखि प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने जनाएको छ। बजारमा निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गरी उपभोक्ता ठक्ने सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्न कम्पनीले दसैँमा सुपथ मूल्यमा खसीबोका बिक्री गर्ने गर्छ।

कम्पनीले प्रत्येक वर्ष दसैँमा उपभोक्तालाई सहुलियतमा वितरण गर्न विभिन्न ठाउँबाट खरिद गरेर उपत्यकामा ल्याई वितरण गर्ने गर्छ। कम्पनीले दसैँलाई दुई हजारको सङ्ख्यामा खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्दै छ। खसीबोका खरिद गर्न आठ करोड ३६ लाख रुपियाँ छुट्याएको कम्पनीले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन्। व्यवसायीले प्रतिकेजी ६७० देखि ६८० रुपियाँ रहेको छ। व्यवसायीले विभिन्न जिल्लामा खरिद गरी उपत्यकामा ल्याएर बिक्री गरिरहेका छन्। यो वर्ष दसैँमा उपत्यकामा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका बिक्री हुने व्यवसायीले अनुमान गरेका छन्। दसैँमा सबैले मासु खाने हुँदा बजारमा खपत धेरै हुने गर्छ। स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले छिमेकी मुलुक भारतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेका छन्।